काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादव सबैलाई शुद्ध खानेपानी उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।आर्थिक वर्षको बजेटमा सांसदले उठाएका प्रश्नहरूको जवाफ प्रतिनिधिसभा बैठकमा दिँदै मन्त्रीले जनतालाई लाभ दिने खालका ठुला योजना समयमै टुङ्ग्याउन प्रतिबद्धता जनाएका हुन् ।
९० प्रतिशत जनसङ्ख्यालाई खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव रहेको उनले बताएका छन् । यादवले सरकारको लक्ष्य पूरा गर्न बजेट र जनशक्तिको अभाव रहेको बताए ।
‘९० प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुर्याउन बजेट र जनशक्तिको अभाव छ । बजेट नबढाए लक्ष्यमा पुग्न कठिन छ,’ मन्त्री यादवले भने । उनले अहिलेसम्म ९८ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी पुर्याएको र २८ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित खानेपानी पुगेको बताए ।
पछिल्लो समय सरकारको प्रयासले पानीजन्य रोगबाट हुने बाल मृत्युदर घटेको, मानिसको सरदर आयु बढेको र पर्यावरणीय सुधार भएको बताए । बजेट अभावका कारण ढल प्रशोधन सङ्घ सरकारले मात्रै प्रचलनमा ल्याएको तथा प्रदेश र स्थानीय तहले ल्याउन नसकेको बताए । परिवर्तित जीवनशैली र तीव्र सहरीकरणले फोहोरको व्यवस्थापन गर्न ढल निर्माण आवश्यक छ, त्यसका लागि कार्य योजना बनिरहेको उनले बताए ।
मन्त्रालयलाई अहिले बजेटमा ३३ अर्ब ८९ करोड विनियोजन गरिएको छ ।