नुवाकोट- नुवाकोटको तादी गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार गाउँपालिका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम २०८२ प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिको आधुनिकीकरण, सामाजिक सुरक्षा, रोजगारी सिर्जनालगायतका क्षेत्रलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाइएको छ।
बैठकमा “संघ संस्था दर्ता तथा नियमन ऐन २०८२”, “खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन २०८२” र “सार्वजनिक खरिद नियमावली २०८२” समेत प्रस्तुत गरिएको थियो। ती तीनै विधेयकमाथि विस्तृत छलफलपछि गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।
गाउँसभामा उपाध्यक्ष, वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।देशभरका ७५३ स्थानीय तहले असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । तादी बागमती प्रदेशमै नीति तथा कार्यक्रम ल्याउने पहिलो गाउँपालिका बनेको छ।