काठमाडौं - संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु सहमत भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र संसद अवरोध खुलाउन सहमत भएका हुन् ।
नेताहरुका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि वृहत्तर छानबिन गर्ने सहमति भएको छ । यो विषयमा विहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ ।
नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको बताए । ‘सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र हामीले अवरोध खुलाउने गरी सहमति भएको छ,’ सापकोटाले भने, ‘सम्भवतः आजै संसद चल्छ ।’