- सन् २०२५ मा पाँच करोड ३० लाख रोजगारी सिर्जना हुने आइएलओको अनुमान
- यसअघि छ करोड रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएकोमा पछिल्लो भूराजनीतिक तनाव र व्यापार क्षेत्रमा देखिएका अवरोधका कारण ७० लाख रोजगारी घट्ने अध्ययनको निष्कर्ष
काठमाडौं– सन् २०२५ मा विश्वव्यापीरुपमा पाँच करोड ३० लाख रोजगारी सिर्जना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले प्रक्षेपण गरेको छ । आइएलओले यसअघि सन् २०२५ मा विश्वबजारमा छ करोड रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको थियो । तर भूराजनीतिक तनाव र व्यापार क्षेत्रमा देखिएका अवरोधका कारण ७० लाख रोजगारी घट्ने अध्ययन सार्वजनिक गरेको हो । यसका साथै विश्वको कूल गार्हस्थ उत्पादन (जिडिपी) पनि ३.२ प्रतिशतबाट झरेर २.८ प्रतिशतका सीमित हुने जनाएको छ । अध्ययनले विश्वको श्रम तथा अर्थ बजार कमजोर हुने निष्कर्ष निकालेको छ ।
आइएलओले सार्वजनिक गरेको ‘विश्व रोजगार र सामाजिक दृष्टिकोण’ नामको अध्ययन अन्तर्राष्ट्रिय मुद्रा कोषको हालसालैको अध्ययनमा आधारित रहेको जनाएको छ । अध्ययनका अनुसार विश्वको श्रमबजारमा उच्च दक्ष श्रमिकको माग बढ्दो छ । यो परिपाटीलाई महिलाहरुले अगाडि बढाइरहेको सो प्रतिवेदनले जनाएको छ । सन् २०१३ देखि २०२३ को बीचमा उच्च दक्ष काममा आबद्ध महिलाहरुको हिस्सा २१.२ बाट बढेर २३.२ प्रतिशत पुगेको छ । उच्च दक्ष पेसामा आबद्ध पुरुषहरुकको अनुपात सन् २०२३ मा करिब १८ प्रतिशतमात्र थियो । यद्यपि, लैंगिक हिसाबले कामको विभाजन गर्ने प्रवृत्ति भने कायमै रहेको पाइएको छ । निर्माण लगायतका क्षेत्रमा महिलाको उपस्थिति कम छ भने स्याहारसुसार, लेखापालजस्ता भूमिकामा बढी भेटिएको छ ।
विश्वव्यापीरुपमा शिक्षित जनसंख्याको वृद्धि हुँदै जाँदा श्रमबजारमा रोजगारी र शैक्षिक योग्यताबीच बेमेल देखिन थालेको छ । सन् २०२२ मा ४७.७ प्रतिशत श्रमिकले मात्र आफ्नो योग्यताअनुसारको काम गरेको पाइएको छ । पछिल्लो दशकमा कम शिक्षित श्रमिक ३७.९ प्रतिशतबाट घटेर ३३.४ प्रतिशतमा झरेका छन् । अति शिक्षित श्रमिकको संख्या भने १५.५ प्रतिशतबाट बढेर १८.९ प्रतिशत पुगेको अध्ययनले देखाएको छ ।
पछिल्लो दशकयता औपचारिक र अनौपचारिक क्षेत्र समान गतिमा अघि बढेको आइएलओको भनाइ छ । सन् २०१४ को तुलनामा सन् २०२४ मा औपचारिक क्षेत्रमा १२.६ प्रतिशतले रोजगारी वृद्धि हुँदा यसै अवधिमा अनौपचारिक क्षेत्रको रोजगारी पनि १३.७ प्रतिशतले वृद्धि भएको छ । आइएलओका अनुसार रोजगारी सिर्जनाभन्दा पनि उत्पादकत्वमा केन्द्रित हुँदा पछिल्लो दशकमा एसिया प्रशान्त क्षेत्रको जिडिपी सबैभन्दा बलियो देखिँदा खाडी मुलुकहरु सुस्त देखिएका छन् । खाडी मुलुकहरु रोजगारीतर्फ केन्द्रित हुँदा उत्पादकत्व वृद्धिमा बाधा पुगेको देखिएको छ । खाडीजस्तै अफ्रिकाले पनि रोजगारीलाई जोड दिएको देखिएको छ ।
त्यसैगरी, भारी कर र व्यापार युद्धका कारण संयुक्त राज्य अमेरिकातर्फको आपूर्ति र उपभोगमा निर्भर ७१ वटा मुलुकका करिब आठ करोड ४० लाख कामदारको काममा अवरोध पुग्ने अनुमान गरिएको छ । उक्त अध्ययनले कृत्रिम बौद्धिकता (एआइले) दीर्घकालीनरुपमा श्रमबजारलाई प्रभावित पार्ने उल्लेख गरेको छ । ती प्रभावहरु कस्ता हुन्छन् भनेर अनुमान गर्न कठिन रहेको जनाइएको छ । २०२५ मा हरेक चार जनामध्ये एक जनाको काम एआईद्वारा स्वचालिन हुनसक्ने अनुमान उक्त अध्ययनको छ । १६.३ प्रतिशत श्रमिक एआईको मध्यम जोखिममा छन् । उच्च दक्ष श्रमिकका रुपमा काम गरिरहेका ७.५ प्रतिशत श्रमिकलाई एआई विस्थापित गर्नसक्ने उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।