काठमाडौं - नेकपा माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत देखाएको छ । बिहीबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफल अनुसार गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएर उनको जवाफ सुन्नुपर्ने पक्षमा नेताहरूले धारणा राखेपछि माओवादीले यस्तो संकेत देखाएको हो ।
माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सत्तापक्षमा रहेका राजनीतिक पार्टीसहित विपक्षीमा रहेका राजनीतिक पार्टीहरूसँग सदनको अवरोध खुलाउने विषयमा छलफल गर्ने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा वा छानबिन समिति नबनेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने रास्वपाको अडान छ । उक्त अडानमा माओवादीले पनि साथ दिएकाले मंगलबार र बुधबारको बैठक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।