- अन्य मुलुकको तुलनामा साउदी गएका श्रमिकको मृत्यु भए शव झिकाउन लामो समय कुर्नुपर्ने अवस्था
- सम्बन्धित देशको कानुनी प्रक्रियाका कारण ढिलाइ हुने गरेको वैदेशिक रोजगार बोर्डको भनाइ
काठमाडौं– रोजगारीका लागि साउदी अरब गएका महोत्तरी रामगोपालपुर–९ का सुरेन्द्रप्रसाद यादवले गत वैशाख २३ गते आत्महत्या गरे । उनी अघिल्लो वर्षको जेठ २२ गते साउदीस्थित ‘अरबियन फल’ नामक कम्पनीमा लेबर काममा गएका थिए । भाइको मृत्युको खबर पाएपछि सुरेन्द्रका दाजु र काका शव झिकाइमाग्न वैदेशिक रोजगार बोर्डमा आए । तर बोर्डले छिटोमा पनि एक महिना लाग्छ भनेपछि उनीहरु थप पीडामा परे । ‘यस्तो होला भनेर कसले सोचेको थियो र ? जे हुनु भइसक्यो । बोर्डबाट शव चाँडो झिकाइदिए हुन्थ्यो,’ दाजु सञ्जयकुमार यादवले प्रभावसँग भने, ‘अन्तिम संस्कार नगरी हाम्रोमा सबै काम अड्किन्छ । यतिसम्म कि दाह्री, कपाल पनि काट्न मिल्दैन । सबैलाई समस्या भइसक्यो ।’
मृतक सुरेन्द्रका दुई छोरा, एक छोरी र श्रीमती छन् । आत्महत्या गर्नुअघि सुरेन्द्रले ‘मेरो दिमागले काम गरेन,नेपाल आउँछु’ भन्ने गरेको उनका दाजु सञ्जयले सुनाए । झिकाउनका लागि म्यानपावरमा खबर गर्दा दुई महिना झुलाइदिएको उनको गुनासो छ । ‘बल्लतल्ल नौ तारिखमा झिकाइदिन्छु भनेको थियो तर भाइले छ तारिखमै आत्महत्या गरिहाल्यो,’ सञ्जयले भने ।
मृतकका परिवारले चाँडो शव झिकाइदिनुस् भन्नुहुन्छ । तर यसमा बोर्डको केही हात हुँदैन । दूतावासले पनि छिटो गर्न फलोअपमात्र गर्न सक्छ । कति समय लाग्छ भन्ने सम्बन्धित देशको निकायमै भर पर्छ ।
शान्तिकुमारी सिंह
अधिकृत, वैदेशिक रोजगार बोर्ड
कतार गएकी सर्लाही लालबन्दीकी सरिता घिसिङले पनि गत जेठ २ गते आत्महत्या गरिन् । २५ वर्षकी सरिता क्लिनरमा कतार गएकी थिइन् । उनी गएको १९ महिना भएको थियो । ‘हाम्रो छोरा छ । उनले किन आत्महत्या गरिन् केही थाहा छैन,’ सरिताका श्रीमान्ले भने । सरिताको शव झिकाउन भने लामो समय लागेन । बोर्डमा निवेदन दिएको १२ दिनमा शव आएको उनका श्रीमान्ले बताए ।इलामका पूर्णकुमार मगरको संयुक्त अरब इमिरेट्स (युएई)मा गत जेठ दुई गते मृत्यु भयो । पेन्टरको काममा गएका मगरको दुर्घटनामा मृत्यु भएको उनका काकाले बताए । मृतकको शव जेठ १३ गते घरमै आइपुगेको उनले बताए । अहिले क्षतिपूर्तिका लागि कागजात पेस गरेको उनको भनाइ छ ।
खाडीका अन्य मुलुकको तुलनामा साउदी गएका श्रमिकको मृत्यु भए शव झिकाउन लामो समय कुर्नुपर्ने अवस्था छ । चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) मा साउदीमा १०७ जना नेपली श्रमिकको मृत्यु भएको तथ्यांक छ । परम्पराअनुसार मृतकको अन्तिम संस्कार नगरी विभिन्न सामाजिक काम नै रोकिने गरेको मृतकका परिवारको गुनासो छ । सबै काम छिटो गर्न सकिने युगमा पनि शव ल्याउन महिनौं लाग्नु चित्तबुझ्दो नभएको उनीहरुले बताए ।
श्रमिकको शव कति समयमा आइपुग्छ भन्ने कुराको निर्धारण सम्बन्धित देशको कानुन, मृत्युको प्रकृति, श्रमिकले काम गरेको कम्पनी र श्रमिकको कानुनी स्थितिले निर्धारण गर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डको उद्धार शाखाकी अधिकृत शान्तिकुमारी सिंहका अनुसार खाडी मुलुक र मलेसियाबाट मृतकको शव झिकाउन छिटोमा एक हप्तादेखि तीन महिनासम्म लाग्ने गरेको छ । साउदीबाहेकका मुलुकबाट औसतमा दुई हप्ताभित्र शव झिकाउन सकिने उनले बताइन् । ‘मलेसियालगायतका देशबाट एकदेखि दुई हप्ताभित्र आउँछ । साउदीबाटचाहिँ छिटोमा एक महिना हो । साउदीबाट तीन हप्ताभित्र शव आएको घटना अत्यन्तै न्यून छ,’ सिंहले भनिन् ।
आफूले दूतावासबाट पाएको जानकारीअनुसार साउदीमा आप्रवासी श्रमिकको मृत्यु भए ६० दिनभित्र प्रक्रिया थाल्नुपर्ने भन्ने नियम रहेकाले पनि बढी समय लाग्ने गरेको उनको भनाइ छ । आत्महत्याको केसमा तीन–चार महिना पनि लाग्न सक्छ । सडक दुर्घटना, कार्यक्षेत्रमा हुने दुर्घटनाजस्ता केसमा पनि अनुसन्धान, पुलिस रिपोर्ट, बिमाजस्ता कारणले दुई महिनाजति लाग्नसक्ने सिंहले बताइन् । कम्पनीले जति चाँडो प्रक्रिया थाल्छ त्यति चाँडो शव झिकाउन सकिने उनको भनाइ छ ।
‘मृतकका परिवारले चाँडो शव झिकाइदिनुस् भन्नुहुन्छ । तर यसमा बोर्डको केही हात हुँदैन । दूतावासले पनि छिटो गर्न फलोअपमात्र गर्न सक्छ । कति समय लाग्छ भन्ने सम्बन्धित देशको निकायमै भर पर्छ,’ सिंहले बताइन् । वैधानिकरुपमा बसेर प्राकृतिक मृत्यु भएका घटनामा चाँडो शव झिकाउन सकिने जनाइएको छ । वैधानिकरुपमा नबसेको, लुकिछिपी काम गरेको, कम्पनीले उजुरी गरेको, अपराधमा संलग्न भएको जस्ता घटनामा भने शव झिकाउने प्रक्रिया लम्बिने सिंहको भनाइ छ ।