सत्तारुढ दल नेपाली कांग्रेस गभर्नर नियुक्तिमा खुलेआम राजनीति भित्र्याउन सफल भएको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारी नियुक्तिका बेला एमालेले दाउ मारेको भन्दै कांग्रेसले यसपटक आफ्नै नेतालाई यो पद दिलाउन सफल भएको हो । गभर्नरमा आफ्नो पोल्टाको व्यक्ति ल्याउन कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झण्डै डेढ महिना पापड नै बेल्नुप¥यो । यो अवधिमा कांग्रेसले सत्ता छाड्नेसम्मको धम्की दिनप¥यो एमालेलाई ।
अधिकारीको पालामा एमाले नेता भएको आरोप लगाउँदै व्यंग्य कस्न भ्याएका कांग्रेस नेताहरु विभिन्न मञ्च पुगेर गभर्नरका लागि रुवाबासी नै गर्न भ्याए । यो सन्दर्भमा कांग्रेस महामन्त्री गगन थापा अग्रस्थानमा देखिए । कतिसम्म भने गभर्नर नियुक्तिमा बिचौलियाहरुको पहुँच प्रधानमन्त्री ओलीको बेडसम्मै रहेको आरोपसमेत लगाए थापाले । संस्थापनइतरका नेता डा. शेखर कोइराला, कांग्रेस प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पनि यो विषयमा चर्कै बोल्ने नेतामा परे ।
देशको अर्थनीतिको केन्द्र, नोटमा हस्ताक्षर गर्ने र भावी आर्थिक नीतिको मुख्य भूमिका रहने केन्द्रीय बैंकको नेतृत्व ल्याउन यति खुलेआम राजनीति भयो कि जसले गर्दा अबका दिनमा यो पदमा जान पनि मान्छेहरु अकमकिन बाध्य हुने छन् । भलै त्यो सक्षम व्यक्ति किन नहोस् । गभर्नर बन्न अर्थनीतिको जानकार, देशको आर्थिक अवस्थाको जानकार र देशको अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सक्ने क्षमता हुनुपर्छ । तर यसअघिका गभर्नर अधिकारी यसमा लगभग असफल रहे । उनकै पालामा देश ‘ग्रे लिस्ट’मा प¥यो । व्यवसाय डामाडोल भयो । बैंकहरुमा रकम थुप्रियो । लगानीकर्ता ऋण लिन डराए । ब्याज ह्वात्तै घट्दा पैसाको लगानी पनि घट्यो । एवं रीतले महाप्रसाद बिदा भए ।
महाप्रसाद उनै व्यक्ति हुन् जसलाई कांग्रेसले ‘एम अधिकारी’ भनेर आरोप लगाएको थियो । एमालेको आर्थिक योजना विभागको सदस्यमा एम अधिकारीको नाम आएको बेला महाप्रसाद गभर्नर थिए । यदि यो सत्य हो भने कांग्रेस अझ एक कदम अघि बढेर चितवनमा गत निर्वाचनमा आफैंले टिकट दिएको व्यक्तिलाई गभर्नर बनाउन सफल भएको छ । आफूले चाहेको व्यक्तिलाई गभर्नर बनाउन पाएकोमा कांग्रेस खुसी होला । तर देशको आर्थिक अवस्था सुधार्न भने दलीयकरणले सम्भव छैन । अर्थतन्त्र ओरालोतिर लागेकोबाट प्रस्टै भइसकेको छ । आफूलाई लोकतन्त्र र उदारवादको हिमायती ठान्ने कांग्रेसलाई अहिले लाज हुनुपर्ने हो । के अब हरेक क्षेत्रलाई यसरी राजनीतिले बिटुलो बनाउँदै लैजाने हो त ?