विभिन्न हिमाल आरोहणका लागि यतिखेर आरोहीहरु सम्बन्धित हिमालतर्फ लागिसकेका छन् । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणको तयारीमा रहेका विदेशी तथा स्वदेशी आरोहीहरु उपयुक्त मौसमको प्रतीक्षामा छन् ।
पर्यटन विभागका अनुसार सोमबार मौसम प्रतिकूल बन्दा सगरमाथा, कञ्चनजंघलगायत हिमालको आरोहण प्रभावित भएको छ । सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । आरोहणको तयारीमा रहेकाहरु मौसम प्रतिकूलताका कारण सुरक्षित स्थलतर्फ फर्किएका छन् । मौसमका कारण कतिपय आरोहरण योजना रद्द भइसकेका छन् ।
विभागका अनुसार मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने छ । सगरमाथा आरोहण व्यवस्थापनको जिम्मेवारी पाएको एटके एक्सपिडिसनका अनुसार मे ११ देखि १४ तारिखसम्म सर्वाधिक संख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना थियो । मे १२ देखि १५ सम्म ‘समिट विन्डो’ रहेको थियो । मे १६ र १७ मा हिमपात हुने अनुमान गरिएको थियो । तर पाँच दिन अगाडि नै सगरमाथा क्षेत्रको मौसम बिग्रिएर आरोहण अवरुद्ध भएको हो ।
हालसम्म सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नेसहित चार समूहका आरोहीले मात्रै सगरमाथा आरोहण गरेका छन् । वसन्त ऋतुको सगरमाथा आरोहण यही वैशाख २६ गतेदेखि सुरु भएको हो । मे १० तारिखमा दावा फुञ्जो शेर्पा र फुर्साङ शेर्पाले सगरमाथा आरोहण गरे । मे ११ मा बेलायतका आरोही मिचेल लियोनार्ड डाक्रेले आरोहण गरे । नेपालबाट ग्याल्जे शेर्पा, फुरी शेर्पा र आङ पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । त्यस्तै इक्वेडरका पेट्रिसियो एरेभालोले पनि सोही दिन आरोहण गरे । मे ११ तारिखकै दिन दावा फुञ्जो शेर्पाले ल्होत्से हिमालको पनि आरोहण गरे ।
यो याममा सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएको तथ्यांक छ । सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन् । हिमाल आरोहण नेपालको पर्यटनको प्रमुख आकर्षण हो । हजारौं विदेशी नागरिक प्रत्येक सिजनमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आउने गर्छन् । यसबाट मुलुकमा प्रशस्त विदेशी मुद्रा भित्रिने गरेको छ । विदेशीमात्रै नभई नेपालीहरु पनि सगरमाथालगायत हिमाल आरोहण गरी विभिन्न कीर्तिमान बनाउने क्रम बढ्दो छ । यसले गर्दा हिमाल आरोहण गर्ने सिजनमा त्यस क्षेत्रमा ठूलो भीडभाड हुने गर्दछ ।
हिमाल आरोहण आफैंमा जोखिमपूर्ण कार्य हो । जोखिम मोलेर नै आरोहीहरु चुचुरोमा पुग्ने लक्ष्य राख्छन् । तर, केहीले मात्रै लक्ष्य पूरा गर्छन् । पछिल्लो समय कीर्तिमान बनाउने नाममा जो पनि सगरमाथा आरोहणमा जाने गरेको पाइन्छ । त्यसरी कीर्तिमानको होडमा लाग्नु राम्रो होइन । जसरी पनि आरोहण गर्ने र गराउने विकृति पनि बढेको सरोकारवालाहरुको गुनासो छ । यसले मुलुकको आरोहण क्षेत्रलाई नकारात्मक असर पु¥याउनेतर्फ सरकारको ध्यान जानुपर्छ ।
जथाभावी आरोहण अनुमति दिने काम बन्द गर्नुपर्छ । अनि आरोहणमा गएकाहरुलाई पनि मौसमी अवस्थाको ख्याल गरेरमात्र जान अनुमति दिने गर्नु अनिवार्य छ । अन्यथा मानवीय क्षति त हुन्छ नै यसले विश्वमाझ नराम्रो सन्देश पु¥याउँछ । यसतर्फ ख्याल गरौं र मुलुकको पर्वतारोहण क्षेत्रलाई सुरक्षित बनाउन ध्यान दिऔं ।