Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #रवि थुनामै
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला
शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं - समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको छ, ललितपुर सातदोबाटोस्थित ‘प्रेरणा महिला माध्यमिक विद्यालय’ । 

जहाँ शिक्षित हुने सपना पूरा गर्दै हुनुहुन्छ, ७१ वर्षीया इन्द्रमाया आलेमगर । बुढेसकालमा झोला भरी पुस्तक, कापी र कलम बोकेर दिनहुँ विद्यालय पुगेकी उनको दैनिकी बनेको छ । कक्षा ११ मा पढ्दै गरेकी इन्द्रमाया यस विद्यालयमा कक्षा १ देखि नै अध्ययनरत छिन् ।
    
विद्यालय तेह्र वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्षित गरी स्थापना भएको हो । विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसेका नजरमा इन्द्रमाया मेहनती र लगनशील छिन् । “यो उमेरमा पनि पढाइप्रतिको उनको लगाव लोभलाग्दो छ । एकदमै मेहनती र लगनशील पनि हुनुहुन्छ, सबै विषयमा प्रायः विशिष्ट श्रेणी ल्याउनुहुन्छ । कति पटक त उनलाई कक्षा ‘जम्प’ गराएका छौँ”, चालिसेले भनिन् । इन्द्रमायालाई विद्यार्थी, शिक्षक र कर्मचारी सबैले आदरले आमा भनि सम्बोधन गर्छन् । 
    
इन्द्रमायाले पढ्ने र शिक्षित हुने धोको सानैदेखि कै भए पनि विभिन्न कारणले पढ्न नपाएको सुनाइन् । शिक्षित हुँदा समाजमा सम्मानित भएर बाँच्न पाइने लोभमा कक्षा १ मा विद्यालयमा भर्ना भएको उनको भनाइ छ ।   विद्यालयमा रोल्पाकी कुमारी महराले पढ्ने रहर पूरा गरिरहेकी छन्  ।

तत्कालीन द्वन्द्वको समयमा पढाइबीचमै छाडेकी उनले यतिबेला यस विद्यालयमार्फत पढाइ अगाडि बढाएकी छन्  । “द्वन्द्व सकिँदासम्म पढ्ने उमेर घर्किसकेको थियो, आफूभन्दा सानासँग बसेर पढ्न मन लागेन”, उनले भनिन्, “त्यो बेला नडेको पढाइले यो विद्यालयका कारण अहिले निरन्तरता पाएको छ ।”
    
विद्यालयकी प्रधानाध्यापक चालिसेका शब्दमा कुमारी पढ्नमा जेहेन्दार हुन् । उनले एसइई प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि अहिले पद्मकन्या क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तरको पढाइ पूरा गरिसकेकी छन् । कुमारी अहिले मानवअधिकार आयोगमा अधिकृत पदमा जागिरे हुन् । इन्द्रमाया र कुमारीले जस्तै शिक्षित बन्ने सपना पछ्याउँदै विद्यालयमा आउने महिलाको सङ्ख्या ठूलो रहेको प्रधानाध्यापक चालिसेको भनाइ छ । 
    
काठमाडौँ तीनकुनेस्थित उत्प्रेरणा महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुमित्रा मैनालीले विद्यालयमा आउने महिलामा पढाइप्रतिको लगाव निकै ठूलो देखिने गरेको बताइन्  ।

“भर्ना हुन आउने धेरै महिलामा कुनै इखले काम गरेजस्तो लाग्छ । कसैलाई पढाइ छुटेको पीडा छ त कसैलाई छोराछोरीले लगाएको बचनले काम गरेजस्तो लाग्छ”, उनले भने, “महिला साक्षर होइन कि शिक्षित बन्नुपर्छ भन्ने भावनाका साथ हामी अगाडि बढिरहेका छौँ ।”
    
गठ्ठाघरस्थित आस्था महिला विद्यालयकी संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले ‘अधुरो शिक्षा पुरा गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ ओझेलमा परेका महिलालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास जारी रहेको बताइन्  । 

बैंकको काम र प्रविधि सिक्न विद्यालयसम्म
    
प्रेरणा विद्यालयकी प्रधानाध्यापक चालिसेका अनुसार परिवारका सबै सदस्यलाई कार्यालय र विद्यालय पठाएर दिउँसोको खाली समय सदुपयोग गर्दै छुटेको पढाइ निरन्तरता दिने महिलाको सङ्ख्या ठूलो छ । “उनीहरुमध्ये कतिपयका छोराछोरी विदेशमा हुनुहुन्छ, विदेशमा बसेकासँग कुराकानी गर्न समस्या भयो, मोबाइलका एपहरु चलाउन र इन्टरनेटमा खोज्न पनि जान्नुपर्ने भयो”, उनले भनिन् , “यी सबै आवश्यकताले उनहरुलाई विद्यालयसम्म ल्याएको हो भन्ने लाग्छ ।”
    
केही त अङ्ग्रेजी सिक्ने उद्देश्यले पनि आउने गरेको उनको अनुभव छ । बैंकको काम गर्न, भौचर र चेक भर्न पनि समस्या हुने र अन्य प्रविधि नजान्दा पछि परिने समस्या धेरैको भएको उनको भनाइ छ । “उनहरुको आवश्यकतालाई ध्यान दिएर विद्यालयले कम्प्युटर शिक्षामा जोड दिएको छ, यसले उनहरुलाई प्रविधिबारे जान्न सहयोग गरेको छ”, उनले भनिनु, “विद्यालयमा प्रोजेक्ट वर्क, साइन्स ल्याब पनि छन् । अङ्ग्रेजी र गणितलगायतका सबै विषय पनि व्यवहारिक पद्धतिबाटै पठनपाठन हुँदै आएको छ ।”

विद्यालय जहाँ स्वास्थ्य पनि शिक्षा पनि 
    
बढ्दो उमेरको महिलामा विभिन्न प्रकारका शारीरिक समस्या आउँछन् । तनाव र थकान हुनु स्वभाविक पनि हो । त्यही भएर उनीहरुलाई बेलाबेला शैक्षिक भ्रमणमा लैजाने गरिएको प्रधानाध्यापक चालिसेको भनाइ छ । “भक्तपुर, चाँगुनारायण, विभिन्न सङ्ग्रहालयमा लगेर त्यसबारे जानकारी लिन पाउँदा उनहरु निकै खुशी हुनुहुन्छ । यसबाट उनहरु चिन्तामुक्त भएको बताउनुहुन्छ”, चालिसेले भनिन्, “दिनहुँ विद्यालय आएपछि पनि कतिपयले रोग र तनाव कम भएको सुनाउनुहुन्छ ।”
    
त्यति मात्रै होइन, रोजगारीका लागि, जागिरे महिला बढुवाका लागि पनि यहाँ विद्यालयमा आउने गरेको प्रधानाध्यापक चालिसेको भनाइ छ । उनको विद्यालयमा हाल १३ वर्षदेखि ७१ वर्ष उमेर समूहका पाँच सयभन्दा बढी महिला विद्यार्थी हुन् । सातदोबाटोस्थित प्रेरणा महिला विद्यालयले हालै स्थापनाको रजत जयन्ती मनाएको छ । प्रेरणा प्रथम महिला विद्यालयका रुपमा स्थापना भए पनि हाल उपत्यकामा यस्ता विद्यालयको सङ्ख्या सात पुगेको छ । साथै बुटबल, तनहुँलगायतका जिल्लामा पनि यस्ता विद्यालय विस्तार भइरहेका छन् । 
    
पच्चिस वर्षअघि र अहिलेको समय धेरै अन्तर आएको प्रधानाध्यापक चालिसेको अनुवभ छ । “पहिले नपढेका महिलाको सङ्ख्या देशभरी नै धेरै थियो, तर यो सङ्ख्या दुर्गमका जिल्लामा बढी छ”, उनले भनिन् , “कम उमेरका विद्यार्थी प्रायः बाहिर जिल्लाका हुनुहुन्छ भने पाको उमेरका महिलाको सङ्ख्या सहरी क्षेत्रमा अझै पनि छ ।” विद्यालयमा बिहान र दिउँसो गरी दुई सिफ्टमा अध्यापन भइरहेको छ । 

पहिलो महिला विद्यालयको स्थापना
    
महिला विद्यालयको स्थापना पछाडि चार जना महिलाको योगदान छ । तत्कालीन समयमा हालकी प्रधानाध्यापक प्रभा चालिसेका साथमा राधा तिमिल्सिना, जनक चालिसे र प्रमिला शर्मा संस्थापक हुनुहन्छ । उनहरुको परिकल्पनाकै कारण मुलुकमा पहिलोपटक महिला विद्यालयको स्थापना भएको थियो । जसको उद्देश्य विद्यालय शिक्षाभन्दा टाढा रहेका महिलालाई प्रौढ शिक्षाभन्दा पनि विद्यालय शिक्षा दिएर सक्षम बनाउनु थियो । 

सामाजिक कामा रुचि राख्ने उनहरु विभिन्न कार्यक्रममा जाँदा एक कक्षा पनि नपढेका, पढाइ छुटेका महिलासँग भेट्ने गर्थिन् । जसको पढ्ने रहर पनि थियो । कतिपय त कक्षा १० मात्रै गर्न पाए हुन्थ्यो भन्ने पनि भेटिए। तिनै महिलाको रहरले उनहरुलाई महिला विद्यालय स्थापनाका लागि घच्घचाएको थियो । त्यो बेला सरकारले सञ्चालन गरेको सामुदायिक विद्यालय प्रशस्त थिए । निजी विद्यालय पनि थिए । तर उमेर पुगेका महिलालाई साना बालबालिकासँग बसेर पढ्न अप्ठेरो र सङ्कोच महसुस हुन्थ्यो । त्यही भएर पढ्न जान सक्नुभएको थिएन । 
    
प्रधानाध्यापक चालिसे भन्छिन्, “त्यही बेला महिलाका लागि छुट्टै विद्यालय खोलौँ भन्ने लागेको हो । त्यसका जिल्ला शिक्षा कार्यालय ललितपुरका जिल्ला शिक्षा अधिकारीसँग सल्लाह गरेर विद्यालयका लागि स्वीकृति माग्यौँ । शिक्षा अधिकारीले, शिक्षा नियमावलीमा १४ वर्षभन्दा माथिका महिलालाई भनेर पढ्नका लागि कुनै पनि प्रावधान वा नीति नियम नबनेको बताइन्  । तर हाम्रो ठूलो आग्रहपछि एउटा विनियम बनाएर स्वीकृति दिनुभयो ।”
    
सुरुमा उनहरुले कक्षा ६ देखि १० कक्षासम्म सञ्चालन गर्नुभयो । “हामी चारै जनाले रु ५० हजारका दरले रु दुई लाख लगानी ग¥यौ । सुरुमा घर, कारखाना, गार्मेन्ट, बस स्ट्यान्डसम्म पुगेर महिलालाई पढ्नका लागि आग्रह गर्दै विद्यार्थी खोज्यौँ”, उनले भनिन् । 
    
विद्यालयमा पहिलो वर्षमा २७ जना विद्यार्थी भर्ना भएका थिए । तर दोस्रो वर्षमा आइपुग्दा यो सङ्ख्या सातमा सीमित भयो । पछि कक्षा १ देखि नै पढाउन सुरु गरेपछि विद्यालय बढ्न थालेको उनको भनाइ छ । तर २०६२÷६३ मा विद्यार्थी यति धेरै सङ्ख्यामा आए कि विद्यालयलाई थेग्नै समस्या हुने अवस्था आयो । “त्यतिबेला विद्यार्थी सङ्ख्या सात सय पुगेको थियो । २०६२ पछि द्वन्द्व प्रभावित विद्यार्थी धेरै आएका थिए”, उनले भनिन् ।  
    
अहिले पनि विद्यालयमा ७७ जिल्लाकै विद्यार्थी अध्ययनरत छन् । चालिसेका अनुसार २०७२ सालको भुँइचालोपछि विद्यार्थीहरु घटेका थिए तर पछि कतिले पुनः पढाइ सुरु गरिन्  ।  प्रेरणा माध्यमिक विद्यालयबाट पहिलो एसएलसीको ब्याच २०५९ सालमा उत्तीर्ण गरेको हो । हालसम्म विद्यालयबाट पाँच सय २२ जनाले कक्ष १० उत्तीर्ण गरिसकेका छन् । विद्यालय सञ्चालन भएको तीन वर्षभित्र नै कक्षा १ देखि ५ सम्म थपियो । हाल १ कक्षादेखि १२ सम्मका कक्षा सञ्चालन भइरहेका छन् । संस्थापक प्रमिला शर्मा अहिले पनि शिक्षक हुन्  र उनले विद्यालयको दिउँसोको सिफ्टको जिम्मेवारी सम्हाल्नुहुन्छ । 

छैन सजिलो पढाउन
 
प्रधानाध्यापक चालिसेको अनुसार पाको उमेरका महिलालाई पढाउन निकै गाह्रो छ । “बालबालिका एक÷दुई पटक भनेपछि प्रायः टिप्छन् तर बढी उमेरमा बारम्बार अभ्यास गराउनुपर्छ । उनहरुलाई पढाउन झर्को नमानी पढाउनुपर्छ”, उनले भनिन् । उनले महिला विद्यालयका शिक्षकका लागि सरकारले तालिमसमेत दिएको बताइन् । 
    
विद्यालयमा सबै विषयका विषय शिक्षक हुनुहुन्छ । विद्यार्थीबाट उठेको शुल्कबाट नै विद्यालय सञ्चालन भइरहेको चालिसे बताइन्  । यसका साथै जिल्ला शिक्षा कार्यालयबाट अनौपचारिक शिक्षाका नाममा केही रकम विनियोजन हुने गरेको छ । 

पाठ्यपुस्तक नै समस्या
    
प्रायः महिला विद्यालयको गुनासो पाठ्यपुस्तक विद्यार्थी केन्द्रित नभएको हुने गरेको छ । प्रधानाध्यापक चालिसेले भनिन् , “सबैभन्दा अप्ठ्यारो पाठ्यपुस्तकले पारिरहेको छ । कक्षा १ मा ‘ताराबाजी लैलै’ पाठ पाका मान्छेलाई पढाउनुपरेको छ । पाका उमेरका महिलाका लागि लक्षित गरी सरकारले छुट्टै पाठ्यपुस्तक व्यवस्था गरिदिनुपर्छ । गणित, अंगे्रजीलगायतका विषयमा यही समस्या छ”, उनले भनिन् ।   आस्था महिला विद्यालयकी संस्थापक पार्वती ज्ञवाली भनिन् , “पाठ्यपुस्तक पाका महिलाका लागि उपयुक्त छैन । बालबालिकाको पढ्ने उमेर, क्षमता र मनोविज्ञानलाई ध्यानमा रखेर बनाइएको पाठ्यपुस्तकले महिलालाई पढाउनुपरेको छ ।” 

पूर्वविद्यार्थी जो समाजमै उदाहरणीय छन्

विभिन्न महिला विद्यालयबाट पढाइ पूरा गर्नुभएका पूर्वविद्यार्थी यतिबेला समाजका लागि उदाहरणीय बनेको छ । प्रेरणा माध्यमिक विद्यालया एसइई उत्तीर्ण गरेकी विष्णु थापा अहिले स्नातकोत्तर र एलएलबीसम्मको अध्ययन पूरा गरी सेवारत हुन् । पूर्वविद्यार्थी मनिषा पौडेल जर्मनीबाट एमएसी नर्सिङको पढाइ पूरा गरेर जर्मनीमै नर्सका रुपमा कार्यरत हुनुहुन्छ ।
    
प्रेरणा विद्यालयबाट पहिलो ब्याचको एसइई उत्तीर्ण कुमारी महरा मानवअधिकार आयोगमा अधिकृत पदमा कार्यरत हुन्  । नविना चित्रकार नेपाल राष्ट्र बैंकमा जागिरे हुन् भने पूर्वविद्यार्थी पूर्णमाया आलेले तनहुँमा महिला विद्यालय सञ्चालन गरेका छन् ।
    
प्रेरणा विद्यालयकी प्रअ चालिस शिक्षकलाई योग्यता र क्षमताअनुसारको तलब दिन नसकेको बताए । उनको विद्यालयमा हाल २८ जना शिक्षक र कर्मचारी कार्यरत हुन् । सरकारले महिला विद्यालयलाई पनि सामुदायीक विद्यालयसरहको सेवा सुविधा उपलब्ध गराइदिनुपर्ने उनको माग छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल शुक्रबार, साउन ९, २०८२
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
पोखरा विश्वविद्यालय २९औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान शुक्रबार, साउन २, २०८२
नयाँ आर्थिक वर्ष सुरु हुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित
नयाँ आर्थिक वर्ष सुरु हुन अगावै सबै विश्वविद्यालयको बजेट र कार्यक्रम पारित बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत
पूर्वाञ्चल विश्वविद्यालयसभाः एक अर्ब ७० करोड बजेट स्वीकृत मंगलबार, असार ३१, २०८२
त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित
त्रिविको वार्षिक साधारणसभा: ६३औँ ग्रेस लिष्ट पारित बिहीबार, असार २६, २०८२
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त
त्रिविको उपकुलपतिमा डा अर्याल नियुक्त बुधबार, असार २५, २०८२
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग
अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग सोमबार, असार २३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP