काठमाडौं– बहुचर्चित ६१ किलो सुन तस्करी काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिएको छ । उनीहरूविरुद्ध तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँको बिगो मागदाबी गर्न रायसहित सिआइबीले प्रतिवेदन बुझाएको हो ।
सिआइबी प्रमुख किरण बज्राचार्यका अनुसार यस प्रकरणमा हालसम्म २३ नेपाली र नौ विदेशी पक्राउ परेका छन् । १४ विदेशी र चार नेपाली अझै फरार छन् ।पक्राउ परेकाहरूविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसूरको कारबाही अगाडि बढाउन सिआइबीले राय दिएको छ । प्रकरणको अनुसन्धान गर्दा सिआइबीले भेटेको ‘ब्रेक प्याड’को तौलका आधारमा सुन तस्करका गिरोहले ३०२ किलोभन्दा बढी सुन नेपाल भित्र्याएको देखिएको जनाएको छ । बज्रचार्यले पत्रकार सम्मेलनमा भनिन्, ‘कूल ३६२.७७८ किलो सुन भित्र्याएको देखिन्छ ।’
अहिलेको बजार मूल्यको आधारमा उक्त परिमाणको सुन तीन अर्ब ५० करोड रुपैयाँभन्दा बढीको हो । प्रतिवेदनमार्फत पक्राउ परेकामध्ये छ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिइएको छ । भन्सार एजेन्ट रूक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, कार्गोका राजन श्रेष्ठ, गोदाम खोजिदिएको आरोप लागेका नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियारमाथि मुद्दा नचलाउन सिआइबीले राय दिएको हो ।
रूक्मिनालाई राजस्व अनुसन्धान विभागले यसअघि नै हाजिर जमानीमा छाडेको थियो । सुन तस्कर समूहविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको मुद्दा चलाउन पनि प्रतिवेदनमा सुझाइएको छ ।
सिआइबी प्रवक्ता नवराज अधिकारीले पक्राउ परेकामध्ये पाँच विदेशी नागरिकले नेपाली नागरिकता तथा राहदानीसमेत लिएको खुल्न आएकाले त्यसमा पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । तस्करीमा संलग्नहरूले सुन लुकाउन र गाल्न प्रयोग गर्ने उपकरण पनि प्रहरीले बरामद गरेको छ । सिआइबी प्रमुख बज्राचार्यले यो घटना अन्तरदेशीय अपराधको स्पष्ट उदाहरण भएको बताएकी छन् ।
‘हङकङ र मकाउ बस्ने चिनियाँ नागरिक, ताइवानी नागरिक, भारतीय नागरिकसमेतको यसमा संलग्नता देखियो,’ उनले पत्रकार सम्मेलनमा भनिन् । नेपालभित्र चाहिँ राजनीतिक तथा उच्च प्रशासकीय संरक्षणको प्रत्यक्ष संलग्नता अहिलेसम्म नखुलेको बताइन् । तर, प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र सम्पर्क दुरुपयोग भएको छनक भने आएको बताइन् ।उनका अनुसार सुन तस्करी गर्ने यो गिरोहका नाइकेहरूले इटाली वा जापानका माफिया संगठनहरूले प्रयोग गर्ने जटिल शैली अपनाएको देखिएको छ । अपराध कार्यको सम्पूर्ण नियन्त्रण पनि बाह्य व्यक्तिबाट भएको देखिएको पनि जनाइएको छ ।
सिआइबीले गरेको अनुसन्धानमा सुन तस्करीको केन्द्रबिन्दु हङकङ देखिएको छ । हङकङमा रहेका पेङ योङछिङ, दावजिङ वाङ, होङ जिक्वाइन, लिन र लीसहितको पाँच जनाको समूह मुख्य गिरोह हुन् । प्रहरी प्रवक्ता सञ्जयसिंह थापाले उनीहरू सबै सुन तस्करहरू भएको बताए । उनीहरू सबै चिनियाँ नागरिक हुन् । थापा भन्छन्, ‘उनीहरूले सुनलाई ‘ब्रेक सू’को भित्री भागमा फिट गराएर कार्गोमार्फत काठमाडौं पठाउँथे ।’
तर, सुरुमा भने उनीहरूले परीक्षणका लागि केही मात्रामा मात्रै सुन पठाउने गर्थे । भन्सार कार्यालयको सिस्टमबाट पास हुने देखिएपछि उनीहरूले ठूलो मात्रामा सुन तस्करीको धन्दा चलाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।हङकङबाट कार्गोेमार्फत काठमाडौं पठाएको सुनबारे काठमाडौंमा रहेका चिनियाँ नागरिक याहो पेचिङसहितको समूहलाई जानकारी हुन्थ्यो । सुनलाई भन्सारबाट पास गराउन पेचिङको समूहले तिब्बती मूलका भारतीय नागरिक थोप्तेन छिरिङलाई जिम्मा दिएको थियो ।
उनै छिरिङमार्फत नेपालमा अर्को तस्करहरूको समूह खडा भएको देखिएको छ । छिरिङले भोजपुरका हर्क राईलाई त्यसको जिम्मा दिएको अनुसन्धानबाट देखिएको दाबी प्रवक्ता थापाको छ । उनै राईमार्फत जोडिएका दोलखाका दीलिप भुजेलले विभिन्न कम्पनी खडा गरेका हुन् । सिआइबीको अनुसन्धानले यो समूहले सुन तस्करीका मात्र लागि सातवटा कम्पनी खडा गरेको देखिएको छ ।
जसमध्ये दीलिपले भाञ्जा राजकुमार भुजेलको नाममा मात्रै पाँचवटा कम्पनी खडा गरेको पाइएको छ ।राजकुमारको नाममा रेडी ट्रेडर्स, हवाडा इलेक्ट्रिक, भुजेल इन्टरप्राइजेज, दोलखा इलेक्ट्रिक, पोवाटी इलेक्ट्रिक खडा गरिएको छ । सरिता तामाङ र लेखनाथ कार्कीको नाममासमेत एक–एक कम्पनी खोलिएको छ । हाल बरामद भएको सुन रेडी ट्रेडर्समार्फत आएको हो ।
बरामद भएको ६१ किलोबाहेक रेडी ट्रेडर्समार्फत थप ३०२ किलो अवैध सुन भित्र्याएर उनीहरूले बजारमा पठाएको खुलेको छ । रेडी ट्रेडर्समार्फत ३४ पटक ब्रेक सू नेपाल भित्रिएको थियो । रेडी ट्रेडर्सबाहेक अन्य कम्पनीमार्फत समेत सुन भित्रिएको खुलेको हो ।
‘एकदम संठित अपराध रहेछ । आधुनिक शैली अनि डिजिटल भुक्तानी गरेको देखिन्छ,’ प्रमुख बज्राचार्यले भनेकी छन् ।
सुनको अन्तिम गन्तव्य भने भारत देखिएको छ । यसबारे थप बुझ्न सिआइबीले हङकङ र भारतमा आफ्ना अनुसन्धान अधिकृतहरू पठाएको थियो ।
त्यहाँबाट सहयोग भइरहेको तर अदालतमा स्वीकार्य हुने किसिमका दस्तावेज तथा प्रमाण संकलन गर्न पारस्परिक कानुनी सहयोगका सहमति आवश्यक पर्ने हुनाले त्यसका निम्ति गृह तथा परराष्ट्र मन्त्रालयको सहयोगमा पहल भइरहेको सिआइबीले जनाएको छ ।हाल सिआइबीले इन्टरपोलको सहयोगमा नोटिस पनि जारी गरेको छ ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको बाहिर राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ब्रेक प्याडका थानमा सुन लुकाइएको भेटेको थियो । उक्त प्रकरणको विभागले १९ दिन अनुसन्धान गरेको थियो । संगठित अपराध देखिएको भन्दै अन्ततः विभागले सिआइबीलाई जिम्मा दिएको थियो । सिआइबीले ३५ दिन अनुसन्धान ग¥यो ।
हंकङबाट सुनलाई नेपाल ल्याएर बेचबिखन गर्न त्यहाँबाट नै केही व्यक्तिले अपराध सञ्जाल सञ्चालन गरेको सिआइबीको ठहर छ । सञ्जालमा आबद्ध सदस्यहरूले लाजिम्पाट र टोखामा सुन गाल्ने उपकरण जडान गरेर लुकाएर ल्याइएको सुन निकाल्ने काम गरेका थिए । भन्सारबाट छुटेपछि सुन बालुवाटारको एउटा गोदाममा लैजाने अनि त्यसपछि गाल्ने गरिएको दाबी पनि सिआइबीको छ ।