Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसीमा लफडा गर्ने मुडमा समाजवादी मोर्चा
एमसिसी एमसिसीमा लफडा गर्ने मुडमा समाजवादी मोर्चा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, भदौ १५, २०८०

काठमाडौं– कार्यान्वयनका लागि सम्झौता भइसकेको अमेरिकी सहयोग परियोजना (एमसिसी)मा सत्तारुढ दलमै रहेको समाजवादी मोर्चा लफडा गर्ने मुडमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं एसिसीको विरोधमा सडकमा निस्कने ठाउँ रहेको बताउँदै आफूलाई सरकारबाट कसैले हटाउन नसक्ने दाबी गर्न थालेका छन् । 

बुटवलहुँदै सुर्खेत पुग्दा दाहालले एसिसीमा पटक–पटक बोली फेरेर समाजवादी मोर्चाको असन्तुष्टिलाई साम्य पार्न खोजेका छन् । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसलाई ‘साइज’मा राख्न राष्ट्रिय सभागृहमा घोषणा गरिएको समाजवादी मोर्चाको निशाना अहिले एमसिसी देखिएको छ । मोर्चाको सन्देश सभाहरूमा प्रधानमन्त्री दाहालसहितका नेताहरूको व्यक्त धारणाले एमसिसीको कार्यान्वयनलाई लिएर प्रस्ट मतभेद रहेको देखिएको हो । मतभेदको असर भने मोर्चामा नपर्ने उनीहरूको दाबी छ ।

प्रधानमन्त्री दाहालले ‘व्याख्यात्मक घोषणा’अनुसार परियोजना कार्यान्वयन हुने बताइरहेका छन् । नभए सडक आन्दोलन हुने उनको चेतावनी छ । दाहालको यस्तो भनाइलाई मोर्चाका कतिपय नेताहरूले पत्याएका छैनन् । किनभने दाहाल ती हुन्, जसले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत एमसिसीलाई स्वीकारी सकेका छन् । परिणामतः १५ फागुन २०७८ मा एमसिसी सम्झौता संघीय संसद्बाट अनुमोदन भयो । संसद्बाट पारित भएपछि कानुनी हैसियत प्राप्त एमसिसी कार्यान्वयनको हालै सम्झौता भइसकेको छ । 

यस्तो अवस्थाबीच दाहालले एमसिसीबारे फरक धारणा राख्ने मोर्चाका नेताहरूलाई फकाउनेगरी व्याख्यात्मक घोषणाको मान्यताअनुसार परियोजना कार्यान्वयन हुनुपर्ने बताइरहेका छन् । जस आधारमा सडकमा जान सकिने भन्दै छन् ।‘एमसिसीबारे अझै पनि धेरै चासो छ । केही साथीहरूको विरोधमा पनि स्वर सुनिएको छ । हामी अझै एमसिसीविरुद्ध सडकमा जाने अवस्था छ । १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौं,’ बुधबार बुटवलमा दाहालले भनेका छन् ।  

Hardik health

तर, दाहाल नेतृत्वकै सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसी कम्प्याक्टका उपाध्यक्ष क्यामरुन अल्फोर्डबीच मंगलबार एमसिसी कार्यान्वयन सम्झौतामा हस्ताक्षर भइसकेको छ । परियोजना कार्यान्वयन पनि हुन थालेको छ । यहीबेला समाजवादी मोर्चाको एउटा घटक नेपाल कम्युनिस्ट पार्टी सडकमा छ । एमसिसीलाई राष्ट्रघाती परियोजना भनिएको छ । प्रधानमन्त्री दाहालबाहेकका नेताले सरकारको नेतृत्व गरे देश युक्रेन बन्ने टिप्पणी पार्टी महासचिव नेत्रविक्रम चन्दको छ । 

चन्दले भनेको युक्रेन पश्चिम युरोपको युद्धग्रस्त देश हो । अमेरिकासँगै पश्चिमी युरोपका देशहरूको समर्थनप्राप्त युुक्रेनमा विश्व शक्ति राष्ट्रमध्येका एउटा देश रुसले डेढ वर्षदेखि आक्रमण गरिरहेको छ । सोही देशजस्तो नेपालको स्थिति हुन सक्ने चन्दको चिन्ता छ । ‘एमसिसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, हेरिराख्नुहोस् नेपाल युक्रेन बन्छ । यो षडयन्त्र हो,’ चन्दले बुधबार सुर्खेतमा आयोजित मोर्चाको सन्देशसभामा भने । सहयोग र अनुदान नेपालले पाउने कुरा स्वाभाविक भए पनि अमेरिकी हस्तक्षेप स्वीकार नहुने चन्दले बताए । साथै, देशमाथि विभिन्न षडयन्त्र भइरहेको उनको भनाइ छ ।  

‘आजसम्म कसैका सामु नझुकेको नेपालमाथि षड्यन्त्र गरिँदैछ,’ उनले भने, ‘कुनै न कुनै रूपले क्रान्तिकारी शक्तिहरूको अभाव हुनेबित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरू  क्रान्तिका विरुद्धमा लाग्ने तयारीमा छन् । त्यसविरुद्ध पनि हामी लाग्छौं ।’नेता अनिल शर्माका अनुसार चन्द नेतृत्वको दलले एमसिसीबारे आज बिहान ८ बजे छलफल गर्न बैठक बोलाएको छ । बैठकमा समाजवादी मोर्चाबारे पनि छलफल हुने भएको छ । 

तर, प्रधानमन्त्रीको दल माओवादीकै महासचिव देवप्रसाद गुरुङ त अझै पनि एमसिसी कार्यान्वयन गर्नै नहुने अडानमा छन् । चीनपरस्त नेताको आरोप लाग्दै आएका उनले चन्दले जसरी एमसिसीलाई राष्ट्रघाती भन्दै आएका छन् ।मोर्चाकै अर्को घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमसिसीबारे अझै फरक धारणा राखिरहेका छन् । मोर्चाको सन्देशसभाहरूमा उनले एमसिसी अनावश्यक परियोजना भन्दै आएका छन् । तर, व्याख्यात्मक घोषणामा उनी पनि सहभागी थिए । उनको दलका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने खुलस्तरुपमै भनेका छन् । ‘विदेशी शक्ति केन्द्रको क्रिडास्थल नेपाललाई बनाउन खोजियो ।’ संसद्बाट अनुमोदन हुनुुअघि देखि नै खनाल एमसिसीको खरो आलोचक हुन् ।

मोर्चामै रहेको दल जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भने एमसिसीको खुलेर विरोध गरेका छैनन् । उनी समर्थक देखिएका छन् । यसरी चार दलीय मोर्चामा प्रधानमन्त्री दाहाल व्याख्यात्मक घोषणाअनुसार परियोजना कार्यान्वयन हुनुुपर्ने पक्षमा उभिएका बेला चन्द आलोचना गरिरहेका छन् । नेपाल मझधारमा छन् । यादव भने सकारात्मक छन् । उसो त एमसिसी अनुमोदन गर्दा नै संघीय संसदबाट नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गरिएको थियो । जतिबेला एमसिसी बहुमतबाट अनुमोदन भयो । 

माधव र चन्दको ढाडस 
झट्ट हेर्दा भ्रष्टाचार, तस्करी र ठगीविरुद्धको अभियान छेडेर सुशासन कायमबारे प्रधानमन्त्री दाहालले सन्देश दिन खोजिरहेका बेला मोर्चाका दुुई नेता माधवकुमार नेपाल र नेत्रविक्रम चन्दले दाहाललाई ढाडस दिएका छन् । यतिसम्मकी सरकार ढल्ला भनेर चिन्तै नलिन दाहाललाई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आग्रह गरे । ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्,’ नेपालले बिहीबार सुर्खेत पुगेर भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन–पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।’

नेपाल नेतृत्वको दलको प्रतिनिधिसभामा १० सिट छ । गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस गठबन्धनबाट अलग हुनेबित्तिकै दाहाल नेतृत्वको सरकार ढल्ने स्थिति छ । नेपालको दलले सरकार जोगाउन सक्दैन । दाहाललाई ढाडस दिने चन्दको दल त संसद्बाहिरै छ । तर, चिन्ता नलिन प्रधानमन्त्रीलाई आग्रह गरे । सडकको मोर्चाबाट लड्ने उनले बताए ।
‘तपाईं प्रधानमन्त्रीको कुर्सीबाट लड्नुस् चोकको मोर्चाबाट हामी लड्छौं,’ चन्दले भने, ‘कुनै पनि भ्रष्टाचारीलाई छुट दिन आवश्यक छैन । राता हुन्, काला हुन् कि सेता हुन् भ्रष्टाचारीलाई छोड्नु हुँदैन ।’

दाहाल गत वर्षको १० पुसमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी सुरुमा एमालेसहितको गठबन्धन र हाल कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री छन् । सुशासनको अभियान चलाउने क्रममा उनले आफूमाथि सरकार छाड्न दबाब बढेको आशयको भाव प्रकट गर्दै छन् । ‘मलाई केही लिनु छैन, केही दिनु छैन । जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो । यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन । सरकार टिकाउन यस्तो ग¥यो र उस्तो ग¥यो भन्छन् त्यो वाहियात हो,’ दाहालले भनेका छन्, ‘राम्रो काम गर्छु । जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।’
 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP