काठमाडाैं - ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको औषधि प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट बिहीबार सशस्त्र प्रहरीले एक जनालाई ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा जफत गरेकाे हाे ।
काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षीय ट्रकका चालक ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो । विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे हो ।
प्रहरीका अनुसार ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ पेपरको बिलविजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय, विरगंजमा र बरामद लत्ताकपडा, प्रिन्टिङ पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएकाे छ ।