संखुवासभा - संखुवासभाको हेवाखोलामा आएको बाढीबाट हराइरहेका १७ जना मजदुर खोज्न तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । तालिम प्राप्त मोति र पिक्कु नाक्कु नाम गरेको कुकुरबाट बेपत्ताको खोजी सुरु गरिएको हो ।
शनिबारबाट हेवा, सभा र पिलुवा खोलाका बगरमा ती कुकुर परिचालन गरिएको छ । कुकुरले सुगेर गन्ध थाहापाइपछि तयारी अवश्थामा राखिएको डोजरले बालुवा निकालेर खोज्न थालिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
मोति र पिक्कु संगै प्रहरी, सेना र ससस्त्रका १ सय बढी जवान पनि परिचालन गरिएको छ । खेलका डिल र खोलाका किनारमा कतै बेपत्ता नभेटिएपछि कुकुर परिचालन गरिएको हो । खोला किनारमा ६० फिट भन्दा बढी बालुवा थुप्रिएकाले उद्धार टोलीलाई बालुवा हटाउनै समस्या भएको छ ।
गत शनिबार राति आएको बाढीले संखुवासभाको हेवाखोलामा निर्माणाधिन ६ मेगावाटको सुपरहेवा जलविद्युत आयोजनामा काम गरिरहेका १७ मजदुरहरु बेपत्ता पारेको थियो भने एक जनाको मृत्यु भएको थियो । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका थिए ।
बाढीले पाँचखपनमा ११, चैनपुरमा ३, र सभापोखरीमा ४ गरी १८ घर बगाएका छन् । यी स्थानमा ८ वटा गोठ, ५ झोलुगे पुल, मोटरेवलपुल, ४ स्काभेटर, क्रेन १, टिफर १, ट्याक्टर ४ र मोटरसाईकल २ वटा क्षति भएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० ०८:२०