खाँदबारी - सुख्खा लागेर पानीको मुहान सुकेपछि
संखुवासभाको खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुरु गरेको छ ।
खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर शुक्रबारबाट बजारबासीलाई पानी वितरण सुरु गरिएको नगर प्रमुख महेश थपलियाले बताए ।
दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अनुसार वितरण भइरहेको छ ।
नगरपालिकाले खाँदबारीमा रहेको सेनाको व्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरु गरेको छ ।
शुक्रबारबाट दैनिक ३० देखि ५० हजार लिटरपानी खाँदबारीका टोलटोलमा दमकलबाट पुर्याइएको नगरपालिकाले जनाएको छ ।
खाँदबारीमा ल्याइएको खानेपानीका मुहान सुकेकाले नगर क्षेत्रमा पानीको हाहाकार भएको हो ।