गाेरखा - गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार दिइने भएको छ । गोरखा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा दिइने गोरखा नगरपालिकाले जनाएको हाे ।
नगरपालिकाले त्यसका लागि पालिका भित्रै मूर्ति बनाउन तालिम दिएको छ । १५ जना महिलाले मूर्ति बनाउन विशिष्ट तालिम लिएका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए ।
स्थानीयको आयआर्जन पनि बढाउने उद्देश्यले तालिम दिइएको उनले बताए। उनका अनुसार विशिष्ट तालिम अघि नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मूर्ति तथा मूर्तिको फ्रेम बनाउन एकमहिने आधारभूत तालिम दिइएको थियो ।
गोरखा आएर फर्कने पर्यटकले गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मूर्ति बनाउने तालिमको आयोजना गरिएको मेयर रानामगरले बताए ।
तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताए । तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १०:४३