काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । उनले काठमाडौं विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न खेलेको भूमिका महत्वपूर्ण भएको बताएका हुन्।
काठमाडौँ विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्दछ ।”
“आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो”, प्रधानमन्त्री दाहालले भने, “हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौँ । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषय पछि परे ।”
प्रधानमन्त्रीले जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने काम भएको उल्लेख गर्नुभयो । त्यस्तो अवस्थामा अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण बन्ने स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, “विभिन्न देशको अनुभव हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।”
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको शैक्षिक कार्यक्रम र आगामी कार्यभारका विषयमा प्रस्तुति दिएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १२:५६