काठमाडाैं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरलाई सम्मान गरेका छन् ।
धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरलाई धन्यवाद ज्ञापन गर्दै सम्मान गरेका हुन् ।
सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धन हुने गरी साहसिक आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै आरोही बुढामगरले देशको गौरव बढाएको बताएका छन् ।
सभापति देउवाले बुढामगरको सफलता पार्टी, राष्ट्र र नेपाली जनताको लागि गौरवको कुरा हो भन्दै यो खुसीलाई आम नेपाली जनताको साथ र हौसला बढाएको बताए ।
“सगरमाथा आरोहण गरी बुढामगरले कीर्तिमान कायम गर्दै देशको गौरव र सान बढाउनुभएको छ । भोलिका दिनमा अझै कीर्तिमान थप्दै जानुस् मेरो पार्टी र सम्पूर्ण नेपाली जनताकातर्फबाट हार्दिक बधाई तथा शुभकामना धन्यवाद दिन चाहन्छु”, सभापति देउवाले भने ।
उहाँले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जनचेतना अभिवृद्धिमा भूमिका खेल्न आग्रह गरेका थिए । सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले बुढामगरलाई कदरसहित सम्मान र पार्टीको चारतारे झण्डा पनि दिएका थिए । सो अवसरमा आरोही बुढामगरका बुबा तथा आरोहण दलका सदस्यलाई पनि सम्मान गरिएको थियो ।
आरोही बुढामगरले बाल्यकालमा गाउँमा छँदा भोगेका दुःख र सङ्घर्षका किस्सा सुनाउँदै आफ्नो सफलताले देशको गौरव र इज्जत बढाएको बताए । उनले आफू स्वतन्त्ररुपमा देशको गौरव बढाउन विभिन्न सामाजिक काम गरेर अघि बढ्न चाहेको उल्लेख गरे ।
आरोही बुढामगरले विश्व शान्ति प्रवद्र्धन र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने बताए । जवाफमा कांग्रेससभापति देउवाले जलवायु परिवर्तनबारे आरोही बुढामगर जानकार रहेको र यसलाई अभियानकैरुपमा अघि बढाउन आफ्नो पार्टीले सक्दो साथ र सहयोग गर्ने वचन दिए ।
“सगरमाथाले धेरै राजनीतिक पार्टीमा परिवर्तन ल्याएको छ, निजामती प्रशासनलाई पनि झकझक्याएको छ, मैले १५ वर्ष बृटिस आर्मीमा जागिर खाए । जहिले पनि देशका लागि के गर्ने भन्ने आकाङ्क्षा थियो अहिले सगरमाथा चढेर देशको गौरव बढाएको छु । मेरो श्वास रहुञ्जेल देशकै लागि केही गर्ने योजनामा छु”, उनले भने ।
आरोही बुढामगरले सगरमाथा आरोहणका क्रममा जलवायु परिवर्तनको प्रभाव परिरहेको देखेको भन्दै विश्व तापमान र जलवायु परिवर्तनको क्षेत्रमा सक्रिय भएर काम गर्न चाहेको उल्लेख गरे ।
घुँडासम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका छन् ।
https://youtu.be/3fA_wNmQ0k8