काठमाडौं - नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।
नेपालको तर्फबाट सरकारी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेष शुक्लाले एक-आपसमा सम्झौतापत्र आदानप्रदान गरे ।
सम्झौता कार्यान्वयनपछि नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने बताइएको छ । यसअघि नेपाल र भारतबीच कार्ड भुक्तानीको सुविधामात्रै सञ्चालनमा थियो ।
सो अवसरमा बोल्दै नेपालका प्रधानमन्त्री प्रचण्डले यो समझदारीले नेपाल र भारत दुवैका व्यवसायी, विद्यार्थी, पर्यटक र धार्मिक यात्रुहरूलाई आवश्यक पर्ने क्रसबोर्डर भुक्तानीहरू गर्न सहज बनाउने भनाइ राखे ।