काठमाडौं- मन्त्रिपरिषदको बैठक सुरु भएको छ । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजायँ माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजायँ माफ गर्ने तयारी सरकारले गरेको छ ।
यसअघि राष्ट्रपति कार्यालयमा पुगिसकेको त्यस सम्बन्धी पत्र राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाइदिएको थियो ।कैदी बन्दीको सजाय माफबारे शनिबारको बैठकमै निर्णय हुने सम्भावना थियो । तर महान्यायाधिवक्ताको कार्यालयको राय नआइसकेकाले निर्णय हुन सकेको थिएन ।
मन्त्रिपरिषदको बैठकमा सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा पनि छलफल हुने सम्भावना रहेको एक नेताले जानकारी दिए ।