काठमाडौं - सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छन् । जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन् ।
सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलोपटक हो ।पेशाले आर्किटेक्ट इञ्जिनियर शाह नेविसंघकी पूर्व केन्द्रीय सदस्यसमेत हुन् ।
डोल्पा स्थायी घर भएकी शाह एनएसयू टेक फेस्टकी संस्थापक हुन् भने बिजनेश एण्ड प्रोफेसनल वुमनकी कार्यकारी सदस्य हुन् ।सिडेन नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको संस्था हो ।
‘अहिले देशभरका अग्रज र साथीहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु । उहाँहरुले मप्रति देखाएको विश्वास र भरोसा टुट्न दिने छैन, महासचिवको उम्मेदवार शाहले भनिन्, ‘७औं महाधिवेशनले सिडेनमा पहिलो पटक महिला महासचिव बनाएर इतिहास रच्नेमा म विश्वस्त छु ।’
नेपाल इञ्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेकी शाह शालिन र क्षमतावान् नेतृका रुपमा परिचित छिन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १२:२०