काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिला सम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
शिष्टाचार भेटघाटका क्रममा एमसीसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितीबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
“मुल रुपमा यो एउटा शिष्टाचार भेटघाट हो । एमसीएअन्तर्गतका परियोजनामा भइरहेका हालका गतिविधिबारे सामान्य कुराकानी भएको छ । परियोजनाका आगामी गतिविधि, मुआब्जा तथा जग्गा प्राप्ति र परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वय बारे गृहमन्त्रालयबाट हुनसक्ने सहयोगका लागि उहाँले आग्रह गर्नुभएको छ,” भेटघाटबारे जानकारी दिँदै गृहसचिव दिनेश भट्टराईले भने ।
मिलेनियम च्यालेन्ज नेपाल अकाउन्टबाट कार्यान्वयन भइरहेका विद्युत् प्रशारणलाइन र सडक बिस्तार आयोजनाको जग्गा प्राप्तिको काम अझै बाँकी छ । मुआब्जा वितरण तथा जग्गा प्राप्तिका काममा प्रमुख जिल्ला अधिकारीहरू संलग्न हुने हुँदा गृह मन्त्रालयबाट त्यसको समन्वयका लागि ब्रुक्सले आग्रह गरेकाे गृहसचिव भट्टराईले बताए ।
भेटघाटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले परियोजनाको सफल कार्यान्वयन तथा समयमै सक्ने गरी काम अघि बढाउन मन्त्रालय र जिल्लाहरुबाट आवश्यक सहयोग हुने आश्वासन दिएको पनि उहाँले जानकारी दिए ।
मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट विकास समितिमार्फत् करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रशारणलाइन र करिब तीन सय ५ किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० ११:१७