काठमाडौं- वैदेशिक रोजगारीका लागि १७ वर्ष आर्थिक वर्षमा करिब चार लाख ३० हजार नेपाली महिला विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म उक्त संख्यामा नेपाली महिला रोजगारीका लागि विभिन्न देशमा पुगेका हुन् ।
उक्त अवधिमा संस्थागत (म्यानपावरमार्फत) श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या चार लाख २९ हजार ३०४ रहेको विभागको तथ्यांक छ । यो कानुनी प्रक्रिया पूरा गरी जानेको संख्या हो । गैरकानुनी मार्गबाट जाने महिलाको यकीन तथ्यांक नै भेटिँदैन । गैरकानुनीरुपमा पनि ठूलो संख्यामा नेपाली महिला कामको खोजीमा विदेशिएका छन् । स्वदेशमै रोजगारीको अवसर नहुँदा महिला विदेशिने क्रम पछिल्लो समय बढिरहेको छ ।
सरकारले आर्थिक वर्ष २०६३÷६४ देखि रोजगारीका लागि विदेश जाने नेपाली महिलाको छुट्टै अभिलेखीकरण सुरु गरेको हो । उक्त आर्थिक वर्षमा ३९० जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ । गत आवमा २०७८/७९ मा मात्रै ४९ हजार १२८ जना महिलाले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५३ हजार ४८९ जनाले श्रम स्वीकृति लिएर विदेश पुगिसकेका छन् ।
विभागको तथ्यांकअनुसार औपचारिक माध्यमबाट रोजगारीका लागि विदेशिने नेपाली महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/६५ मा चार हजार ६८५ जना, २०६५/६६ मा आठ हजार ५९४ जना, २०६६/६७ मा १० हजार ५६ जना, २०६७/६८ मा १० हजार ४१६ जना महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०६८/६९ मा २६ हजार ४७३ जना, २०६९/७० मा ३२ हजार ३६ जना, २०७0/७१ मा ३३ हजार १९४ जना, २०७१/७२ मा ३० हजार ४२३ जना, २०७२/७३ मा ३१ हजार ९३४ जना, २०७३/७४ मा ३३ हजार ५२० जना महिला विदेश गएका छन् । यसैगरी २०७४/७५ मा ३२ हजार ९६४ जना, २०७५/७६ मा ३२ हजार १२३ जना, २०७६/७७ मा २८ हजार ४२३ जना, २०७७/७८ मा ११ हजार ४५६ जना महिलाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारीका कारण विदेश जाने महिलाको संख्यामा कमी भएको विभागले जनाएको छ । यस्तै आव २०६३/६४ र २०७८/७९ को संख्या सुरुआतमा नै उल्लेख गरिएको छ । उल्लेखित विवरणबाहेक इपिएस प्रणालीमार्फत अहिलेसम्म दक्षिण कोरियामा चार हजार ४८१ जना महिलाले श्रम स्वीकृति पाएका छन् ।
विभागले विदेशिएका महिलाहरुको तथ्यांक उल्लेख गरे पनि कति संख्यामा फर्किए भन्ने कुनै विवरण राखेको छैन । त्यस्तै विभिन्न माध्यम प्रयोग गरेर रोजगारीका लागि गैरकानुनी रुपमा विदेश जाने महिलाको संख्या थप्ने हो भने उल्लेख गरिएको संख्या अझै बढी हुने विभागले जनाएको छ । तर त्यसरी गैरकानुनी रुपमा जाने महिलाको विभागसँग कुनै तथ्यांक छैन ।
कुन आवमा कति महिला विदेशिए ?

कोरियामा ४४८१ जना