- महाप्रबन्धक न्यौपानेको लापरबाहीका कारण उद्योग ठप्प भएको भन्दै उद्योगका मजदुर आन्दोलित
-२०७७ पुस २० गते केपी ओली नेतृत्वको सरकारबाट दुई वर्षको नियुक्ति पाएका महाप्रबन्धक न्यौपानेको कार्यकाल फेरि एक वर्ष थपिएपछि विवादित
काठमाडौं - उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा काटिएको बत्ती नजोडिए काठमाडौंमा आन्दोलनमा आउने कर्मचारीहरुले तयारी गरेका छन् । यही वैशाख ३१ गते २४ करोड बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्रधिकरणले बिजुलीको लाइन काटेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
उद्योगमन्त्री रमेश रिजाल, महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलगायत लागे पनि बुधबार रातिसम्म बत्ती जोडिएको छैन । यता उद्योगका कर्मचारीले भने महाप्रबन्धक न्यौपानेको लापरबाहीका कारण बत्ती काटिएको आरोप लगाएका छन् । बत्ती काटिनुअघि नै महाप्रबन्धक न्यौपाने काठमाडौंमा आएकामा बुधबारसम्म फर्किएका छैनन् ।
बुधबार उदयपुर फर्कने बताए पनि न्यौपाने उद्योगमा नआइपुगेको त्यहाँका कर्मचारीले बताए । ‘बुधबार साँझसम्म महाप्रबन्धक यहाँ आउनुभएको छैन । बरु यहाँ उहाँलाई बहिष्कार गरौं भनेर मजदुरहरु आन्दोलनमा उत्रिएका छन्,’ एक कर्मचारीले प्रभावसँग भने । न्यौपानेविरुद्ध विभिन्न चार मजदुर संगठन विरोधमा उत्रिएको ती कर्मचारीले भने । ‘उद्योग सुधार्न नयाँ जिएमको खोज्ने भन्ने छ । बत्ती पनि भोलि (बिहीबार)सम्म आउने कुरा भएको छ,’ ती कर्मचारीले भने ।
यता महाप्रबन्धक न्यौपाने भने आफूलाई हटाउन लागिपरेकाहरुले बत्तीको लाइन काटेको दाबी गर्छन् । न्यौपानेमाथि भ्रष्टाचारको आरोप लगाउँदै मजदुरहरु सोमबारदेखि नै आन्दोलित भएका हुन्
। न्यौपानेले भने आफूले कुनै भ्रष्टाचार नगरेको बरु आफू गएपछि उद्योग नाफामा गएको दाबी गरे । ‘जिएम हटाउन लागेकाहरुले त्यस्तो भनेका होलान् । म तुलामा जोखिन तयार छु,’ न्यौपानले भनेका छन् ।महाप्रबन्धक नहटाए र बत्ती नजोडिए काठमाडौंको माइतीघर आएर धर्ना दिने चेतावनी मजदुर संगठनले दिएको छ ।
विधि मिच्दा विवाद
सरकारले उद्योगका महाप्रबन्धक न्यौपानेको कार्यकाल विधान नै मिचेर एक वर्ष थप गरेसँगै विवाद सिर्जना भएको थियो । २०७७ पुस २० गते केपी ओली नेतृत्वको सरकारले दुई वर्षका लागि नियुक्त गरेका महाप्रबन्धक न्यौपानेको कार्यकाल एक वर्ष थप गरियो । सरकार फेरिएपछि प्रधानमन्त्री कांग्रेसका शेरबहादुर देउवा बने ।
देउवाको मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू थिए । उनकै प्रस्तावमा २०७९ असोज ७ गतेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको कार्यकाल एक वर्ष थप ग¥यो । कार्यकाल थपको पत्र न्यौपानेले मंसिर अन्तिममा मात्र पाए ।
त्यतिबेला बडूले उद्योग मन्त्रालयमातहतका संस्थानहरूमा पदाधिकारी नियुक्ति गर्ने निर्देशिका नै संशोधन गरेर न्यौपानेको कार्यकाल थप गरेका थिए । उद्योग मन्त्रालयले मातहतका संस्थानमा अध्यक्ष, महाप्रबन्धक र सदस्यहरू नियुक्ति गर्नका लागि ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयनसम्बन्धी निर्देशिका’ जारी गरेको छ ।
२०७७ को निर्देशिकाले संस्थानको अध्यक्ष, महाप्रबन्धक र सञ्चालक समिति सदस्यहरूको कार्यकाल दुई वर्षको हुने व्यवस्था गरेको थियो । सोहीबमोजिम दुईवर्षे कार्यकालका लागि न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरिएको थियो । तर, पछिल्लोपटक यो निर्देशिकालाई संशोधन गर्दै संस्थानको अध्यक्ष, महाप्रबन्धक र सञ्चालक समिति सदस्यहरूको कार्यकाल तीन वर्षको हुने व्यवस्था गरिएको छ ।
त्यतिबेला न्यौपानेको कार्यकाल थप नभई पदावधि मिलान गरिएको उद्योगमन्त्री बडूको दाबी थियो । त्यसअघि पनि उदयपुर सिमेन्टमा पटकपटक महाप्रबन्धक न्यौपानेविरुद्ध मजदुर आन्दोलनमा उत्रिएका थिए । व्यवस्थापकीय कमजोरीले उद्योग नाफामा सञ्चालन भएको उदयपुर सिमेन्ट त्यसयता निरन्तर नोक्सानीमा चल्न थालेको छ । जसका कारण बत्तीको बक्यौता तिर्न नसक्दा अहिले उद्योग ठप्प रहेको छ । न्यौपानेले भने आफ्नो पालामा उद्योग नाफामा गएको दाबी गर्दै आएका छन् ।
यद्यपि, पछिल्लो समय कोइला अभाव र आर्थिक मन्दीका कारण सिमेन्टको माग कम आउँदा नोक्सान बेहोर्नुपरेको उनको दाबी छ । ‘बैंकहरुले घरजग्गा कर्जामा लगानी कम गरे, लगानी गरेकोमा पनि १४ देखि १६ प्रतिशत वार्षिक ब्याजदर । यसले गर्दा विगत वर्षहरुभन्दा कम घर निर्माण भइरहेको कारण पनि सिमेन्टको माग ह्वात्तै घट्यो,’ उनले भनेका छन् ।
यता कर्मचारी भने न्यौपानेकै कारण उद्योग मारमा परेको ठोकुवा गर्छन् ।सरकार र मजदुरसम्मै राजनीतिमा उत्रिँदा दक्षिण एसियाकै उत्कृष्ट सिमेन्ट गैंडा सिमेन्ट उत्पादन गर्ने उदयपुर सिमेन्ट भने अहिले धराशायी बन्दै गएको छ ।