काठमाडौं- नेपालको निर्माता कम्पनी यात्री डिजाइन स्टुडियो प्रा.लि.ले कानूनी रुपमा पहिलो विद्युतीय बाइक दर्ता गराएको छ । सार्वजनिक भएको एक वर्षपछि सोमबार यात्री सरकारी निकायमा दर्ता भएको कम्पनिले सामाजिक सञ्जालमार्फत जनाएकाे हो ।
नेपालमा उत्पादित सवारीको दर्ता गर्ने कुनै सरकारी व्यवस्था थिएन ।लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको छ ।

उक्त्र निर्देशिकामा थपिएकाे नयाँ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख छ ।
नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि यात्रीले पहिलो पटक आफ्नो बाइक दर्ता गरेको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइक दर्ता भएसँगै यात्री नेपालमै उत्पादित विद्युतीय सवारीमध्ये पहिलाे दर्ता हुने कम्पनी बनेकाे छ ।