काठमाडाैं - नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका अविवाहित बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो ।
विसं २००२ मङ्सिर १ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जन्मिएका बस्नेतले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए ।
ने.वि.संघको सदस्यका रूपमा २०१८ सालमा राजनीतिक जीवन बस्नेतले शुरु गरेका थिए । विसं २०६२/६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष रहेका थिए ।
गणतन्त्र सुदृढीकरण, प्रजातान्त्रिक मूल्यमान्यताको विकास र प्रेस स्वतन्त्रतालाई उनले संविधानसभामा आफूले उठाउने मूल मुद्दाका रूपमा लिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट वी.एल्. र एम्.ए. गरेका बस्नेतको सोख राजनीति बाहेक पत्रकारिता र अध्ययनमा थियाे ।
उनको पार्थिव शरीर आज दिउँसो श्रद्धाञ्जलिका लागि पशुपति क्षेत्रमा राखिने र त्यसपछि अत्येष्टि गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ११:०७