काठमाडौं - प्रहरीको खोजी सूचीमा रहेका नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । छ दिनदेखि खोज्दा पनि उनी नभेटिएपछि प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा छापा मारेको हो । छापा मारे पनि प्रहरीले केही प्रमाण नभेटिएको दाबी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पूर्वउप्रधानमन्त्री रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यही प्रकरणमा उनका छोरा सन्दीप सोही दिन बुटवलबाट पक्राउ परिसकेका छन् । तर, रायमाझी भने हालसम्म सम्पर्कविहीन रहेका छन् ।
शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपको नाममा डेढ करोडको तीनवटा चेक भेटिएको सार्वजनिक भएको थियो । अमेरिका लैजाने भन्दै ठगी गिरोहले करोडौं रकम असुलेको खुलेको छ ।
अनुसन्धानमा सघाउनुपर्छ: एमाले सचिवालय
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी तानिएकाले उनीमाथिको अनुसन्धानमा सहयोग पु¥याउनुपर्ने एमालेको धारणा रहेको एमाले प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
‘टोपबहादुर रायमाझीको नाम आएको छ । त्यसका लागि हामीले सघाउने भन्ने छ,’ सचिवालय बैठकपछि प्रवक्ता गुरुङले भने, ‘विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धानमा सहयोग पु¥याउनुपर्छ ।’ फरार रायमाझीलाई एमाले जोगाउन लागेको भनेर आलोचना भइरहेका बेला गुरुङले अनुसन्धानमा सघाउनुपर्ने बताएका हुन् ।
थप दुई जना पक्राउ
प्रहरीले नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई बिचौलियालाई पक्राउ गरेको छ । काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेका उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएको छ ।
यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।
जिल्ला प्रहरी परिसरले उनीहरूविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।
पक्राउ परेका थप दुई जनालाई मंगलबारै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको पनि रेग्मीले बताए ।