काठमाडौं - संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयर भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो ।
स्राेतका अनुसार हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ ।
“हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नआएकाे प्रवक्ता सिटौलाले बताएका छन् ।
हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।
घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताए ।
माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।
घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताए । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १३:३९