काठमाडाैं - आज ‘गुड फ्राइडे’ । सामान्यतया साताको हरेक शुक्रबारलाई ‘गुड फ्राइडे’ भनेर उत्सव मनाउने चलन छ । नेपालमा पनि हप्ता भरीका कामकाजहरु सकेर विश्राम लिने दिनका रुपमा शुक्रबारलाई लिइने गरिन्छ । सहर बजारतिर रेस्टुरेन्ट, पप, बारहरू खचाखच भरिने दिन पनि शुक्रबारै हो । सबै कामहरु समयमै सकेर शुक्रबारका दिन साँझतिर साथीभाइ, आफन्त भेटघाट गर्ने खानपिन गर्दै रमाइलो गर्ने चलन रहेकाे छ र गुड फ्राइडे भनेर मनाउने नेपालीसमाजमा भिजेकाे छ ।
ख्रीष्टियन समुदायको महत्वपूर्ण पर्वमध्ये इष्टर सन्डे एक विशेष पर्व मानिन्छ । इसाई धर्मावलम्बीहरुले हरेक वर्षको मार्च महिनाको २१ तारिखका दिनपछि पर्ने पूर्णिमा पछिको आइतबार ‘इष्टर सन्डे’ मनाउने चलन छ । उक्त इष्टर सन्डेको ठ्याक्कै दुई दिन अघि पर्ने शुक्रबारलाई नै गुड फ्राइडे भनेर मनाइने चलन छ ।
‘गुड फ्राइडे’ शब्द आज भन्दा करिब दुई हजार वर्ष पहिले अर्थात् पहिलो शताब्दीतिर चलाईएको थियो । अंग्रेजी शब्दबाट रुपान्तरण गरिएको उक्त शब्दलाई अंग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे पनि भनिन्छ । जसलाई नेपालीमा असल शुक्रबार वा शुभ शुक्रबार भन्ने गरेको पाइन्छ ।
एक क्रिस्चियन समुदायहरुका लागि येशूको क्रुसिफिक्सन र कलभरीमा उनको मृत्युको सम्झना गर्ने दिनलाई गुड फ्राइडे भनेर चिन्ने गरिन्छ। यसलाई होली फ्राइडे, ग्रेट फ्राइडे, ग्रेट एन्ड होली फ्राइडे ,पवित्र र ग्रेट फ्राइडे, र कालो शुक्रबार पनि भनिन्छ। क्याथोलिक, पूर्वी अर्थोडक्स, लुथरन, एङ्गलिकन, मेथोडिस्ट, ओरिएन्टल अर्थोडक्स, युनाइटेड प्रोटेस्टेन्ट र केही सुधार गरिएका परम्पराहरू , प्रेस्बिटेरियन र मण्डलीका चर्चहरू सहित, धेरै ईसाई सम्प्रदायका सदस्यहरूले उपवास र चर्च सेवाहरूसँग गुड फ्राइडे मनाउँछन्।
यस वर्षको इष्टर सन्डे यही अप्रिल ९ तारिखमा परेकाे छ । त्यसैले त्यसको दुई दिन अघि अर्थात् आज अप्रिल ७ तारिखमा गुड फ्राइडे रहेको छ । सामान्यतया हरेक वर्षको अंग्रेजी महिनाको मार्च २१ पछि अप्रिल १५ तारिखको बीचमा गुड फ्राइडे पर्ने गर्छ ।
‘गुड फ्राइडे’ इष्टर सन्डे पर्वसँगै जोडिएर आउने भएकोले यसलाई बुझ्न पहिले इष्टर सन्डेका बारेमा बुझ्नु पर्छ । इसाई धर्मावलम्बीहरुका अनुसार जिजस क्राइस्ट मृत्युबाट बौरिएर उठेको दिनको सम्झनामा इष्टर सन्डे मनाउने चलन रहिआएकाे छ । उक्त आइतबारको दुई दिन अघि शुक्रबार उनै जिजस क्राइस्ट क्रसमा निधन भएको थियो । त्यसैले, जिजस क्राइस्ट क्रसको निधन भएको उक्त दिनको सम्झनामा असल शुक्रबार अथवा ‘गुड फ्राइडे’ मनाउने चलन सुरु भएको हो ।
बाइबलका अनुसार इसाई धर्मावलम्बीहरुको ईश्वर जिसस क्राइस्ट एक निर्दाेष र पापरहित हुनुभए तापनि उहाँलाई दुई हजार वर्षअघ मानव जातिको पापको कारण क्रसमा टाँगिएर मारियो । जिसस क्राइस्ट शुक्रबार बिहान ३ बजेतिर आफ्ना चेलाहरुसँगै इजरायलको गेटसमनीको बगैचामा प्रार्थना गरिहँदा गिरफ्तारमा परे ,त्यसलगत्तै बिहान ९ बजे क्रसमा टाँगिनुभयो र ६ घण्टा क्रसमा बिताउनु भई दिउँसो ३ बजे उनले आफ्नो प्राण त्यागेका छन् ।
पश्चिमा देशमा गुड फ्राइडेको दिनअधिकांश देशमा सार्वजनिक बिदा दिइन्छ ।यस दिनलाई मानव जातिको इतिहासमा निकै गम्भीर मान्ने गरिन्छ । त्यसैले, यस दिनमा अधिकांश व्यापार, स्कुल र विश्वविद्यालय पनि बन्द गरिन्छन् । गुड फ्राइडेको दिनमा ख्रीष्टियनहरु उपवास बस्छन् । प्रभातफेरीमा सहभागी हुन्छन् । चर्चहरुमा विशेष सेवा सञ्चालन गरि जिससको मृत्युको वर्णन गर्ने भजन, लघु नाटकका साथै अमर वचन प्रस्तुत गर्ने चलन छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १४:०६