काठमाडाैं – काठमाडाैं महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । यही हप्ता प्रशासन विभाग सर्ने तयारी गरेको र अरु विभाग पनि स्थानान्तरण गरी एकै ठाउँबाट सेवा दिने तयारी गरेको काठमाण्डौ महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।
अहिले काठमाण्डौ महानगरपालिकामा १४ विभागीय र ५८ महाशाखाले भाडाकै घरबाट विभिन्न १० ठाउँबाट सेवा दिइरहेका छन् । अहिले महानगरपालिकाले काठमाडाैं प्लाजामा सरसफाइ गर्ने काम इन्टरनेट राख्ने काम, कोठा विभाजनको काम भइरहेको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडाैं प्लाजामा सर्न लागेको हो ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडाैं प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच यही चैत ८ गते सम्झौता भएको थियो । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ ।
पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको सात तले भवनको तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र दुई सय दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिन्छ । वि.स २०७२ को भूकम्पअघि काठमाडाैं महानगरका सबै सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो । तर भूकम्पपछि महानगरका विभाग तथा शाखाहरु विभिन्न ठाउँबाट सञ्चालन भैरहेका छन् ।