काठमाडाैं - काठमाडाैं महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक (किताब) बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतबार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यालय आफैँले पाठ्यपुस्तक र स्टेशनरी सञ्चालन गर्न नपाउने तथा विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न बाध्य बनाउन नहुने विषय उल्लेख रहेको महानगरले स्मरण गराएको छ ।
निर्देशिकामा भएका मापदण्ड र निर्देशन उल्लङ्घन गरेको पाइएमा कारबाही हुने र यसको जवाफदेही प्रधानाध्यापक नै हुने काठमाडाैं महानगरपालिकाको पत्रमा उल्लेख गरेकाे छ ।