काठमाडाैं - सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
बिहीबारदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिएका हुन् ।
दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुने जनाइएकाे छ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुने बताइएकाे छ ।
व्यक्तिगतका लागि प्रति सिफ्ट रू दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू १३ हजार शुल्क तोकिएको छ ।
गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए भने रू एक करोड आम्दानी भएको प्रमुख कट्वालले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९ १६:२१