काठमाडाैं - पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीको प्रमुख पर्यतकीय गन्तव्य ठमेलमा दीप प्रज्वलन गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एसोसिएस न नेपाल (हान), नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)लगायतका सङ्घसंस्थाले दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।
शोकसभामा परिषद्का उपाध्यक्ष सहदेव धमलाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुर पाण्डेले पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा क्षति पुगेको बताए । सोही अवसरमा एक मिनेट मौनधारण गरिएको थियो ।
आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
यसैगरी दुर्घटनामा परी निधन भएकाको सम्झानमा सोमबार साँझ सुनसरी सदरमुकाम इनरुवा दीप प्रज्ज्वलन गरिएको छ । सुनसरी सदमुकाम इनरुवा–१ स्थित लोकतान्त्रिक चोकमा समाज कल्याण युवा क्लबको अगुवाइमा दीप प्रज्ज्वलन गरिएको हो ।
यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा भगवान्ले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने उद्देश्यले दीप प्रज्ज्वलन गरेको हो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साह, चन्दन यादव, विवेक साहलगायतको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ०९:०९