काठमाडाैं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडाैं उपत्यकाका ‘हब’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडाैं उपत्यकाका हब अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिए ।
उनले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । हिजाे ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको थियाे ।
विमानमा रहेकाे ७२ जनामध्ये चार जनाको अवस्था थाहा हुन सकेको छैन । बाँकी ६८ जनाको शव हिजै फेला परेको छ । स्वास्थ्य मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि पोखरामा रहेको अन्य मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि समन्वय गरिएको जनाएको छ ।
सहप्रवक्ता डा. अधिकारीले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटनास्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै उपचार तथा शव व्यवस्थापनका लागि हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरिएको बताए ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ ०८:११