चितवन- चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा सोमबार एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको हाे ।
नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो ।
आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए । कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरि कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए ।
उत्त सम्झौता भएसँगै पत्रकारहरुको बीमा प्रकृया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताएका छन् । कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भइपरि आउने दुर्घटनाबाट राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताए ।
कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको रु सात लाखको दुर्घटना बीमा गराएको थियो । अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बीमा गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ ०८:३०