काठमाडौं-निर्वाचन आयोगले तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हाे ।
आयोगले सरकारसंग यही मंसिर २, ४ तथा मंसिर ५ मंसिर गते सोमबार सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । मंसिर ३ गते भने शनिबार परेको छ ।
आयोगले सार्वजनिक विदाका बारेमा केही दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकोमा यसबारे मन्त्रिपरिषदले निर्णय गरिसकेको छैन ।निर्वाचन हुने दिन मंसिर ४ गते आइतबार परेको छ ।
त्यसैले यदि आयोगले गरेको सिफारिस मन्त्रीपरिषदबाट अनुमोदन भएमा शनिबारसहित चार दिन लामो बिदा हुनेछ । निर्वाचन आयोगले अधिकांश मतदानस्थलहरु विद्यालयमा राखिएकाले पनि पूर्व तयारीका लागि दुई दिनअघि नै सार्वजनिक बिदाको माग गरेको हो ।
यद्यपि, सरकारले भने निर्वाचनमा कति दिन बिदा दिने भन्ने बारेमा अहिलेसम्म निर्णय गरेको छैन । यसअघि त्रिभुवन विश्वविद्यालयले मंसिर १ गतेदेखि देखि मंसिर ५ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।यद्यपि, गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भने सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ १७:०२