शंखुवासभा -पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई निर्वाचन आयोगले स्पष्टीकरण साेधेकाे छ । शंखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण पत्र लेखेको हाे ।
आयोगले लेखेको पत्रमा भनिएको छ – उपर्युक्त सम्बन्धमा तपाईंले आफ्नो फेसबुक पेजमार्फत नियमित रुपमा एउटा पार्टीको मत मागेको भनी उजुरी परेको हुँदा यो पत्र लेख्ने कार्य भएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ ।
उल्लेखित सन्दर्भमा तपाईंले आफ्नो फेसबुक पेजमार्फत निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ? यदि तपाईंले दलको प्रचारप्रसार गर्ने कार्य गर्नुभएको हो भने तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण के छ? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय शंखुवासभामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेकाे छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ ०८:१७