बैतडी- सुदूरपश्चिम प्रदेशमा हिजो साँझ ५ दशमलव ४ भूकम्पको धक्का महसुस गरिएको छ ।
राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
यसैगरी खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।
पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो ।
“मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका छन् ।
खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए ।
जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ ०८:१९