काठमाडौं– संसदको महाभियोग सिफारिस समितिले आइतबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग एक घण्टा बयान लिएको छ।
यस बयानमा समिति सदस्यहरूले पाँच वटा प्रश्न राणासँग सोधेका थिए। ती प्रश्नमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा राणाको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो।
समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले उक्त प्रश्नमा राणाले आफूले विवेक प्रयोग गरेको जवाफ दिएको जानकारी दिए।
‘मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हो। मैले विवेक प्रयोग गरें। यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन,’ राणाको जवाफ उद्धृत गर्दै सांसद विश्वकर्माले भने।
समितिले राणालाई सोध्ने भनेर ४३ वटा प्रश्न तयार पारेको छ। बाँकी प्रश्नहरूबारे बयान लिन राणालाई भदौ २५ गते फेरि बोलाइएको छ।