काठमाडौं – बाग्लुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ ।
साल्ट टेड्रिङ कर्पोरेशन बाग्लुङले सोमबारदेखि रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ ।
नेपाल सरकारले अनुदान स्वरूप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक पर्ने सो मल वितरण गर्न लागिएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए ।
वीरगंज साल्ट टेडिङ बाट मल आउन सुरु गरेको र यहा पनि करिब दुई गाडी मल भित्रिएको उनको भनाइ छ । रासायनिक मलको मूल्य सम्बन्धित पालिकाले तोके बमोजिम बिक्री वितरण गरिने कर्पोरेशनले जनाएको छ । मल आउने क्रम जारी रहेको छ ।
रासायनिक मल बाग्लुङ सहित पर्वत र म्याग्दीमा समेत वितरण गरिने कर्पोरेशनको भनाइ छ । तत्कालका लागि आवश्यक युरिया र डिएपी मल भित्रिएकाले मल अभावमा निरास बनेका किसानको लागि अब केही राहत हुने कार्यालय प्रमुख श्रेष्ठले बताए ।