काठमाडौं - राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा तीन दिनदेखि सर्भर डाउन हुँदा देशभर सेवा प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सेवा केन्द्रहरूमा परिचयपत्र बनाउन, विवरण सच्याउन तथा बायोमेट्रिक दर्ता गर्न पुगेका सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् ।
लगातार सर्भर समस्या आएपछि दैनिक सयौं सेवाग्राही प्रभावित भएका छन् । अत्यावश्यक कामका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने नागरिकले घण्टौं लाइन बसे पनि सेवा नपाएको गुनासो गरेका छन् ।
यता सम्बन्धित निकायले समस्या समाधानबारे कुनै आधिकारिक सूचना सार्वजनिक गरेको छैन । सेवा अवरुद्ध हुँदा पनि सरकार तथा विभाग मौन बसेको भन्दै सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । प्राविधिक समस्या कहिले समाधान हुन्छ भन्ने स्पष्ट जानकारी नदिइँदा सर्वसाधारण थप अन्योलमा परेका छन् ।