मुस्ताङ- मुस्ताङ जिल्लाका स्थानीय तहहरूले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९र८० का लागि ९४ करोड अनुदान पाएका छन् ।
सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख अनुदान पाएका हुन् ।
चालु शीर्षकमा ७९ करोड ३ लाख र पूँजीगततर्फ १४ करोड ७४ लाख बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकाले २१ करोड ५३ लाख, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख बजेट पाएका छन् ।
यस्तै लोघेकर(दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख अनुदान पाएका हुन् । सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका छन् ।
स्थानीय तहहरूले संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ १२:४०