

काठमाडौं– मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ ।चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारणलाइनको द्रुतगतिमासबस्टेसन निर्माण भइरहेको हो ।
नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । यस्तै, खुदी सबस्टेसन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धारापानी सबस्टेसन निर्माण तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । भौगोलिक रूपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने बताइएको छ ।
नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२÷३३ केभी, ५० एमभिए क्षमताका पावर टान्सफर्मरहरू रहने जनाइएको छ ।दुवै सबस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा छ भने उपकरणहरूको जडान भइरहेको छ ।खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए र २२०/१३२ केभी, १०० एमभिए तथा १३२÷३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् ।
खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरू निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारणलाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।उनले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्याहरूलाई समाधान गरी प्रसारणलाइन निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएका छन् । यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।