

काठमाडौं– भृकुटीमण्डपमा आयोजित सूचना प्रविधिसम्बन्धी मेला ‘२७औं क्यान इन्फोटेक २०२२’ सम्पन्न भएको छ । गत बुधबार (वैशाख ७) देखि सुरु भएको मेला सोमबार सकिएको हो ।
यस वर्षको मेलामा अवलोकनकर्ताले सहभागिता उत्साहजनक रहेको आयोजक संस्था क्यान महासंघका केन्द्रीय सचिव भुपालदास श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्षको मेलामा करिब १७० स्टलमा विभिन्न कम्पनीले प्रदर्शनी राखेका थिए । स्वदेश तथा विदेशका १०० भन्दा बढी कम्पनीले मेलामा भाग लिएको उनले बताए ।
सचिव श्रेष्ठका अनुसार नेपाल तथा विश्वमा भएका सूचना प्रविधिको विकाससम्बन्धी जानकारी दिने उद्देश्यले प्रत्येक वर्ष मेला आयोजना गरिँदै आएको छ । यो मेलामा बिक्रीभन्दा ब्राण्डिङ तथा विशेष छुटका साथ बुकिङ गर्नलाई जोड दिइएको उनले बताए ।
श्रेष्ठका अनुसार सूचना तथा प्रविधिसम्बन्धी पछिल्लो समय विकसित विभिन्न सफ्टवेयर तथा हार्डवेयरको प्रदर्शनी गरिएको छ । यो पटकको मेलामा वायरलेस प्रविधिमा वाइफाइमार्फत कुनै पनि ठाउँमा मुखले बोलेर टिभी सञ्चालन गर्न सकिने प्रविधि मुख्य आकर्षणको रूपमा प्रदर्शन गरिएको उनको भनाइ छ ।
‘सूचना तथा सञ्चार प्रविधिमा लागेका व्यवसायी र सोको बारेमा जानकारी लिन चाहने उत्सुक व्यक्तिहरू, विद्यार्थी तथा नयाँ प्रविधिको खरिद गर्न चाहने ग्राहक एवं प्राविधिकहरूले मेलाबाट लाभ लिएका छन्,’ सचिव श्रेष्ठले भने ।
मेलाको उद्घाटन बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए । गत वर्ष कोरोना भाइरसको महामारीका कारण मेला सञ्चालन हुन सकेको थिएन । –भावना पुलामी, प्रशिक्षार्थी पत्रकार