

काठमाडौं– कृषि मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ७३ करोड रूपैयाँको सिलिङ दिईएको छ ।मन्त्रालयले सोही सिलिङभित्र रहेर बजेट निर्माण गर्न समेत निर्देशन दिइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९÷२०८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न समेत निर्देशन दिएका छन ।
आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न निर्देशन दिएका हुन । अर्थमन्त्री शर्माले भने,‘आगामी आवको बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, त्यसलाई हटाइहाल्नुस्, उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बीउको उपलब्धता, सही समयमा रासायनिक तथा जैविक मलको उपलब्धता, प्रविधि र प्राविधिकको सहयोगलगायतका माध्यमबाट किसानलाई प्रोत्साहन गर्नु जरुरी छ ।’
कृषि मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश सञ्जेलले आगामी आवका लागि प्रस्तावित कार्यक्रममा कृषि अनुदानको विषय उठाएपछि मन्त्री शर्माले यस्तो निर्देशन दिएको बताए । चालू आर्थिक वर्षमा कूल बजेटको तुलनामा कृषि क्षेत्रमा २ दशमलव ५ प्रतिशतमात्रै बजेट विनियोजन भएको र पछिल्लो १० वर्षमा कृषि तथा पशुपंक्षी क्षेत्रको औसत वृद्धिदर ३ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ ।