काठमाडाैं - नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी(Korea SMEs and Startups Agency-KOSME)बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यले आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भर्चुअल कार्यक्रमकाे माध्यमबाट महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किम (Mr. Moon Hwan Kim, Vice President, Korea SMEs and Startups Agency-KOSME) ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
विशेष गरी अन्तरराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।
साना तथा मझौला व्यवसायलाई युग सुहाउंदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाए । अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिनुहुँदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे ।
कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसंग नजिकमा रहेर कार्यगर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुुन्तलाल हिराचन, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाःखको उपस्थिति थियो भने महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले महासंघको संक्षिप्त परिचय दिएका थिए ।