काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा.टेड्रोस भेटवार्ता भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिएका हुन् ।
उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा.टेड्रोसलाई धन्यवाद ज्ञापन गरेका छन् ।
महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरेका छन् । त्यस अवसरमा महानिर्देशक डा.टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका बारेमा जानकारी गराएका थिए ।
महानिर्देशक डा.टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए । उनले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीबार नेपाल आउनुभएका महानिर्देशक डा.टेड्रोसले बिहीबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।
महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आएका छन् ।