

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेपालको पूर्वाधार विकासमा भारतको ठूलो सहयोग आवश्यक रहेको बताएकी छिन् । पूर्वाधार विकासमा नेपाल अहिले पनि पछाडि रहेकाले पछिल्ला वर्षहरुमा भारतले आधुनिक प्रविधि सहितको सडक, टनेल, पूल, शहरी एवं यातायात पूूर्वाधारमा गरेको प्रगति हाम्रा लागि पनि अनुकरणीय हुनेमा उनको जोड थियो ।
निर्माण उपकरण उद्योगको दक्षिण एसियाकै सबैभन्दा ठूलो कार्यक्रम एक्सकोनको पूर्वावलोकन कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री झाक्रीले एक्सकोनमा नेपालको सहभागिता महत्वपूर्ण हुने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा भारतीय उद्योग परिसंघले उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपालमा पूर्वाधारमा लगानीको ठूलो अवसर छ, प्रदर्शनीको माध्यममार्फत नेपालको पूर्वाधार विकासमा प्रविधि, लगानी आकर्षणका लागि सहयोग गर्न पनि मन्त्रीले आग्रह गरिन् । भारतले आफ्नो विकासका साथै नेपालको विकासपनि सहयोग गर्नुपर्नेमा उनको सुुझाव थियो ।
एक्सकोन, भारतीय उद्योग परिसंघद्वारा आयोजित दक्षिण एशियाको सबैभन्दा ठूलो निर्माण उपकरण र निर्माण प्रविधि व्यापार मेला हो र यसको ११ औं संस्करण भारतको बैंगलोर अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बैंगलोरमा आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुंदैछ । सोही प्रदर्शनीका वारेमा जानकारी सहित नेपाललाई उक्त प्रदर्शनीको निम्तो दिन सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एक्सकोनबाट नेपालले पनि फाइदा उठाउने गरी सहकार्य हुनुुपर्नेमा जोड दिंदै नेपाली निजी क्षेत्रले उक्त कार्यक्रममा भाग लिने विश्वास दिलाए । अध्यक्ष गोल्छाले एक्सकोनबाट नेपालले भरपुर फाइदा लिने गरी सहभागी हुने विश्वास दिलाए ।