काठमाडौं - उच्च अंकले घटेको बजार बिहीबार भने ४.९४ अंकले बढेकाे छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएसँगै ४.९४ अंकले बढेकाे हाे ।
आज बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ । बिहीबार बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । बिहीबार कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० वटा कारोबार भयो । यसबाट ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम भने बिहीबार समेत सुधार हुन सकेन । बिहीबार १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ । ग्रीन भेञ्चर लिमिटेडको सेयरमूल्य समेत १० प्रतिशतले बढेर ३६०.८० रुपैयाँ पुगेको छ ।
समिट लघुवित्त ७.५९, गणपति लघुवित्त ६.४८, जनउत्थान लघुवित्त ६.०६, युनियन लाइफ इन्स्योरेन्स ४.०४, न्यादी हाइड्रोपावर ४, पञ्चकन्या माइ, साधना लघुवित्त, किसान लघुवित्त र आरएमडीसी लघुवित्तको शेयरमूल्य साढे ३ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार घम्मेदी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाए । यस कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । बिहीबार नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । नबिल बैंकको ५ करोड र सूर्य लाइफ इन्स्योरेन्स साढे ४ करोड बढीको कारोबार भएको छ ।