ललितपुर - ललितपुरमा रहेकाे सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ।
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान भएको विष्फोटमा परेर एक जनाको मृत्यु भएको हाे । साे विष्फोटमा सात जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर भएकाे प्रहरीले जनाएकाे छ ।
अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताएका छन् ।
उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भइसकेको छ । सात जना घाइतेहरु अस्पतालमा छन् । गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा तीन सय मिटर परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन’ उनले भने, ‘धेरै नै इनर्जीका साथ विस्फोट भएको देखिन्छ ।
घटनास्थलको अवस्था निकै भयावह देखिन्छ ।’ टाढा–टाढाका घरहरुका सिसा पनि फुटेका छन् ।अक्सिजन भर्ने क्रममा आज बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले बताए । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए ।
‘के कमजोरी भयो भन्ने कुरा थप अनुसन्धानबाट खुल्दै जाला, हामीले गम्भीर रुपमा अनुसन्धान गर्छौं,’ उनले भने ।घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित ललितपुर प्रहरी प्रमुख शाह, राष्ट्रिय अनुसन्धान विभाग र विपद व्यवस्थापनको टोली पुगेको छ ।