

काठमाडौं— हस्तकलाका वस्तुहरूको निर्यात प्रर्वद्धन गर्नमा सहयोग पुर्याउने उदेश्यले नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य भएको छ । व्यापार घाटा न्यूनीकरण र नेपालको अन्र्तराष्ट्रिय पहिचानका लागि हस्तकलाका सामाग्रीले महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै चेम्बर र महासंघले निर्यात प्रर्वद्धनमा सहकार्य गरेको जनाइएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजिकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसंग हातेमालो गरेर अघि बढ्ने बताए । अध्यक्ष मल्लले नेपालका हस्तकलाका वस्तुहरूको अन्र्तराष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि आफुले सक्दो पहल गर्ने बताए । उनले भने, ‘चरम व्यापार घाटा न्यूनीकरणका लागि बर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरूको अन्र्तराष्ट्रिय करण गरेर निर्यात प्रर्वद्धन गर्नु नै हो ।’
हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गुर्नुका साथै सीप, कला कैशलका माध्यमबाट संस्कृतिको संरक्षण र सम्र्वद्धनमा ठूलो सहयोग गर्दैआएको मल्लले बताए । अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरिया लगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामानहरू निर्यात भईरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिक रूपमा धेरै लाभ लिन सकिने बताए । हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण, व्यवसायीलाई राहत उपलव्ध गराउन तथा अन्य नीतिगत सुधारका लागि आफुले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले आफुहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरूको निर्यातका लागि भन्सार लगायतका ठाउँमा विभिन्न नीतिगत समस्या रहेको सुनाए । निर्यात गर्ने व्यवसायीलाई सरकारले राहतको व्यवस्था गरेपनि बास्तविक व्यवसायीले पाउन नसकेको शाक्यले गुनासो गरे । निर्यात सहजीकरण गरिदिन शाक्यले चेम्बरसंग आग्रह गरे । अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाका वस्तुहरूको निर्यात प्रर्वद्धनका लागि आफुले सक्दो पहल गर्ने बताए । आगामी बजेट अघि नै नीतिगत सुधारका लागि सरकारसंग पहल गर्ने चेम्बर र महासंघबीच समझदारी समेत भएको छ ।